तिन नेताको छलफल सम्पन्न, एमसिसिको विषयमा प्रचण्डको चुनाव पछि सार्न प्रस्ताव

काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे चुनावपछि मात्रै छलफल गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आमन्त्रणमा भएको प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको भेटका क्रममा अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेका हुन् । 

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले छलफलका क्रममा माओवादी अध्यक्ष दाहालले एमसीसीलाई चुनावपछि छलफल गर्नु उपयुक्त हुने बताएको जानकारी दिए । ‘उहाँले सामुन्नेमा चुनाव छन् । त्यसैले एमसीसीलाई चुनावसम्मका लागि स्थगित गरौं । सत्ता पक्ष र प्रतिपक्षसहितको सहमतिमा चुनावपछि संसद्‌मा पेस गरौं, त्यो उचित हुन्छ भन्नुभयो, फेरि संसद् सञ्चालनमा सहयोग गर्नुस् पनि भन्नुभयो,’ पोखरेलले भनेका छन् । 

प्रधानमन्त्री देउवाले भने तत्कालै एमसीसी पास गर्नुपर्ने अवस्था रहेको भन्दै ओली र दाहाल दुवैलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा एमाले अध्यक्ष ओलीले सत्तापक्षले आफ्नो दृष्टिकोण राखेको अवस्थामा एमाले अनिर्णित नबस्ने बताएका थिए । ‘अहिले सत्ता पक्षकै एकमत देखिएको अवस्था छैन । सरकारले आफ्नो धारणा राखेको अवस्थामा एमालेले अनिर्णित रहँदैन, हामी आफ्नो स्पष्ट निर्णय गर्छौँ,’ महासचिव पोखरेलले भने । 

उनले आफूहरूले एमसीसी पास गर्नेबारे पहिले सरकार स्पष्ट होस् भन्ने राय राखेको बताए । ‘यो सरकारले अघि बढाउनुपर्ने विषय हो, त्यसैले पहिले सत्तापक्षले धारणा सार्वजनिक गरोस्, तब हामी बोल्छौं भनेका हौं,’ उनले भने 

ताजा समाचार