काठमाडौं
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदमा युवा नेताहरुले उम्मेदवारी दिएका छन्। उनीहरुले विभिन्न प्यानलबाट उम्मेदवारी दिएका हुन्। शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदिप पौडेलले उम्मेदवारी दिएका छन्। देउवा प्यानलबाट विद्रोह गरेका विश्वप्रकाश शर्माले प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन्।
त्यस्तै शेखर कोइराला प्यानलबाट गगन थापा र डा. मिनेन्द्र रिजालले उम्मेदवारी दिएका छन्। महामन्त्रीमा उम्मेदवारी दिएका यी नेताहरुको राजनीतिक पृष्ठभूमि के हो? पार्टीभित्र यी नेताहरु कति लोकप्रिय छन्? यसबारे चर्चा गरौं।
गगन थापा
थापाको जन्म २०३३ सालमा काठमाडौँमा भएको हो। उनी विद्यार्थी २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेका थिए। त्यतिबेला उनी कक्षा ९ मा पढ्थे। राजनीतिमा लाग्ने उनको सोँचाइ पनि थिएन। त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी विद्यार्थी राजनीतिमा लागे। विसं २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनले राजनीतिमै सक्रिय हुने अठोट गरे। त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै सभापति बने। २०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता बढ्यो।
पहिलो पटक २०५१ सालमा हिरासत बसेका थापालाई २०५९ असोज १८ पछि सूर्यबहादुर थापाको प्रधानमन्त्रीत्वमा उनीसहित गुरुराज घिमिरे र पुरुषोत्तम पौडेललाई राजकाज मुद्दा लाग्यो। त्यसपछि उनको अधिकांश समय सडक आन्दोलनमा बित्यो। माघ १९ पछि पनि गगनलाई राजद्रोहको मुद्दाले छाडेन। उनी पक्राउ पर्दै छुटे।
दोस्रो सविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापतिको प्रभावशाली भूमिका निर्वाह गरेका थापा नेपाली कांग्रेसका युवा नेता गगन थापा एक सभासदको रूपमा सदा चर्चाको शिखरमा रहे। समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गरेका थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि थापा राजाको सक्रिय शासनका बेला कांग्रेस पार्टीमा गणतन्त्रको आवाज प्रखररूपमा उठाउने युवाको रूपमा परिचित छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थापालाई नेपाली कांग्रेसको भाबी सभापतिको रूपमा पनि हेरिन्छ। उनी विसं २०७३ मा प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ मन्त्री बनेका थिए।
डा. प्रकाशशरण महत
नुवाकोट, कविलासका डा. प्रकाशशरण महत संविधानसभामा समानुपातिकतर्फ नेपाली कांग्रेसका सभासद् भएका थिए। उनी रामशरण महतका भाइ हुन्। कुनै पनि संसदीय निर्वाचनमा भाग नलिएका डा. महतले नेविसंघको महामन्त्री, तत्कालीन सात पार्टीको वार्ता कमिटी सदस्य र परराष्ट्र राज्यमन्त्रीको जिम्मेदारी सम्हालिसकेका छन्। उनी विद्यार्थी हुँदा विसं २०३० सालमा राजनीतिक यात्रा थालेका थिए।
डा. महतले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। डा. महतका आर्थिक विश्लेषण र परराष्ट्र सम्बन्धमा कलम चलाउँदै आएका छन्। उनी देउवाका विश्वास पात्रका रुपमा पनि चिनिन्छन्।
प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य हुन् पौडेल। नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा उनी सर्वाधिक मत ल्याई पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनले आफ्नो राजनीतिक करियर नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए। तनहुँ क्षेत्र नम्बर २ को प्रदेश (क) मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य युवा नेता पौडेललाई ५ मतको अन्तरले पराजित गर्दै तत्कालीन बाम गठबन्धनकी साझा उम्मेदवार आशा कोइराला विजयी भएकी थिइन्। पौडेल नेवी संघका पूर्व केन्द्रीय सभापतिसमेत हुन्।
विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्ने नेपाली युवा राजनीतिज्ञ हुन्। कांग्रेसको १३औँ महाधिवेशनमा देउवाको समूहका मुख्य योजनाकारका रुपमा रहेका शर्माले देउवा समूहको चुनावी रणनीति बनाउने सम्पूर्ण जिम्मेवारी पाएका थिए।
०५७ सालमा नेविसंघका केन्द्रीय सभापति बनेका उनी दुई वर्षे कार्यकालभन्दा एक दिन बढी पनि सो पदमा बसेनन्। महाधिवेशन गराएर शर्माले नयाँ नेतृत्वलाई नेविसंघ सुम्पिएका थिए। विद्यार्थी नेताका रूपमा आफ्नो क्षमता देखाइसकेका शर्माले ०७५ फागुनमा प्रवक्ता नियुक्त भएपछि पार्टीलाई चलायमान बनाउन सक्दो कसरत गरे। उनी प्रतिनिधिसभाको चुनावमा झापाबाट पराजित भएका थिए।
मिनेन्द्र रीजाल
रिजाल पार्टीभित्र प्रस्ट वक्ताका रुपमा चिनिन्छन्। उनी संविधानसभामा सभासद् पनि थिए। उनलाई नेपाली राजनीतिक क्षेत्रमै विद्वान नेताका रूपमा लिइन्छ। मिनेन्द्र माधवकुमार नेपालको मन्त्रिमण्डलमा सँस्कृती मन्त्री र सुशील कोइराला नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री भएका थिए।
हालः देउवा सरकारमा उनी रक्षामन्त्री रहेका छन्। यसअघि केन्द्रीय कमिटीमा उत्कृष्ट मत ल्याएर निर्वाचित भएका थिए। उनी रामचन्द्र पौडेल निकट मानिन्छन्। उनी प्रतिनिधिसभा निर्वाचनमा मोरङ २ बाट निर्वाचित भएका थिए।