२१ सांसदको समर्थनसहित कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी

सुर्खेत

२१ सांसदको समर्थनसहित कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् । उनले नेकपा माओवादीका १२, कांग्रेसका ६ र नेकपा (एकीकृत समाजवादी) का ३ सहित २१ जना सांसदको समर्थनमा मंगलबार दिउँसो ४ बजे प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् ।

कर्णाली प्रदेशसभा ३५ सदस्यीय छ । बहुमतका लागि १८ सांसद आवश्यक पर्छ । माओवादीबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेसम्मका लागि मुख्यमन्त्रीको लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

शाहीले नेपालको संविधानको धारा १६८ (२) बमोजिम आफूलाई बहुमत रहेको भन्दै मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने ३ दलको निर्णयअनुसार शाहीले मुख्यमन्त्रीमा दाबी पेस गरेको कांग्रेस सचेतक हिमबहादुर शाहीले बताए ।

प्रदेशसभामा रहेका बहुमत सदस्यहरुको समर्थनमा शाहीले दाबी पेस गरेपछि प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण मंगलबार राति साढे ८ बजे गर्ने तयारी गरेको छ ।

मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरे पनि अरु मन्त्रीले भने १/२ दिनमा शपथ ग्रहण गर्ने सचेतक शाहीले बताए ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी गरेका शाहीको शपथ ग्रहण मंगलबार राति साढे ८ बजे गर्ने तयारी गरेको छ । मुख्यमन्त्री शाहीले शपथ ग्रहण गरेपनि अरु मन्त्रीले भने १/२ दिनमा शपथ ग्रहण गर्ने सचेतक शाहीले बताए ।

ताजा समाचार