‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो’ : ओली

काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन ‘प्रतिक्रियावादी र प्रतिगामी’ भएको आरोप लगाएका छन् । पार्टीको वडा कमिटीको शनिबार थापाथलीस्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्ने क्रममा ओलीले सत्तारुढ गठबन्धनको चर्को आलोचना गरेका हुन् । 

आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीको आरोप थियो । ‘पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउँमा सेवा गर्ने?,’ उनको आक्रोश थियो ।

मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको पनि ओलीको आरोप थियो । मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणालीमाथि जनताको विश्वास कमजोर हुन जानेतर्फ उनले सचेत गराएका छन् ।

सत्तारुढ गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्ने काम गरेको र अग्रगमन हुन नदिएको पनि उनले बताए । अनुशासन हिनता राज्य तहबाट नै भइरहेकाले मुलुकलाई सत्तारुढ गठबन्धनले विपरीत र प्रतिगमनको बाटोमा लगिरहेको उनले भने ।

अग्रगमन हुन नदिएर अहिलेको पाँच दलीय गठबन्धनले संविधान कार्यान्वयनको बाटोमा अवरोध सिर्जना गरेको पनि उनले भने ।

ताजा समाचार