माधव समूहका ५४ नेताको हस्ताक्षर प्रमाणीकरण, ६९ वर्षमा नयाँ पार्टी

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले निर्वाचन आयोगमा बुझाएका ५८ जना केन्द्रीय सदस्य मध्ये ५४ जनाको मात्रै हस्ताक्षर प्रमाणीकरण भएको छ ।

निर्वाचन आयोगले तोकेको समयसिमा अनुसार बुधवार निर्वाचन आयोग गएका मध्ये चारजनाको हस्ताक्षर प्रमाणीकरण भने हुन सकेन । आयोगमा गत साता बुझाएको सुचीमा हस्ताक्षर गरेका नेताहरु मध्ये केन्द्रीय सदस्य भाष्कर काफ्ले भने निर्वाचन आयोगमा अनुपस्थित भएका छन् । 

नेकपा एमाले विभाजन गरी नेकपा (एस) गठन गरे पनि नेपालका बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालका सम्धी सोमप्रसाद पाण्डेलगायतको हस्ताक्षर भने प्रमाणीकरण हुन सकेको छैन । सुरुको सुचीमा हस्ताक्षर नगरेका कारण उनीहरुले हस्ताक्षर गर्न नपाएका हुन् ।

६९ वर्षमा नयाँ पार्टी खोल्दै माधव नेपाल

झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेता नेपाल अहिले ६९ वर्षका भए । यो उमेरमा आएर उनले फेरि शून्यबाट नयाँ पार्टी गठन गरेका हुन् ।

एकपटक मुलुकको नेतृत्व र १५ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व सम्हालेका माधव नेपाल आजदेखि औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बन्ने भएका छन् । एमाले बनाउन हिजो उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल अहिले पनि उनकै साथमा छन् ।

एकीकृत समाजवादी पार्टी चलाउन नेपाललाई तेस्रो पुस्ताका रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायतको दह्रो साथ र सहयोग रहँदै आएको छ । यिनै नेताहरूको बलमा नेपालले अब एकीकृत समाजवादी पार्टीको रथ हाँक्ने छन् ।

हिजोसम्म उनलाई साथ र सहयोग गर्ने अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य, गोकर्ण विष्ट एमालेमै फर्केका छन् ।

ताजा समाचार