काठमाडौं । सरकारले दल फुटाउन सहज हुने गरी ल्याएको अध्यादेश केही बेरमै जारी गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारले यसअघि रहेको ४० प्रतिशत केन्द्रीय समिति र संसदीय दलको प्रावधानलाई हटाएर बीस प्रतिशत केन्द्रीय समिति वा संसदीय दलको संख्या भए दल फुटाउन पाउने गरी अध्यादेश ल्याएको थियो ।
उक्त अध्यादेशको विषयमा कानूनी परामर्श गरी केही बेरमा जारी गरिने राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले बताए ।
‘सरकारले पठाएका अध्यादेश जारी गर्नु राष्ट्रपतिको संवैधानिक दायित्व हो। सोहीअनुसार स्वभाविक प्रक्रियामा जान्छ,’ ढकालले भने, ‘आजै जारी हुने सम्भावना छ।’
प्रमुख प्रतिपक्षी नेकपा एमालेले यस्तो अध्यादेश जारी भए प्रतिवाद गर्ने चेतावनी दिएको छ। आफ्नो पार्टीमा विवाद भइरहेका बेला बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पार्टी फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याइएको अध्यक्ष केपी शर्मा ओली पक्षको बुझाइ छ।
एमाले विभाजन गर्न सजिलो हुने गरी ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै जारी गर्छिन् कि गर्दिनन् भन्नेमा चासो छ।
अध्यादेश मंगलबार नै राष्ट्रपतिसमक्ष प्रस्तुत भइसकेको थियो। तर कार्यव्यस्तताको कारण देखाउँदै हिजो जारी भएन।
संसदको चालू अधिवेशन हठात् अन्त्य गरी सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश तीव्र आलोचना भइरहेको छ। सत्तारूढ नेपाली कांग्रेसका नेतादेखि गठबन्धनको पार्टी जनता समाजवादीका शीर्ष नेता बाबुराम भट्टराईले पनि अध्यादेशको विरोध गरेका छन्।
अध्यादेशको विरोध भइरहेकाले राष्ट्रपतिले यसलाई जारी गर्ने कि नगर्ने भन्नेबारे विज्ञहरूसँग छलफल पनि गर्न सक्ने शितल निवास स्रोत भनाइ छ।
अध्यादेश लगत्तै नयाँ दल दर्ता नेपाल समूहले भने अध्यादेश जारी भएलगत्तै नयाँ दल दर्ताको लागि निर्वाचन आयोग जाने तयारी गरेको छ ।
सरकारले सिफारिस गरेको अध्यादेश मंगलबारै राष्ट्रपतिले स्वीकृत गरेको भए सोही दिन एमाले नेताहरू निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारीमा थिए । तर, मंगलबार ५ बजेसम्म राष्ट्रपतिले अध्यादेश स्वीकृत नगरेपछि माधव पक्षको तयारी आजको लागि सरेको हो ।
सो समूहका एक नेताका अनुसार नयाँ पार्टी गठनका लागि बेदुराम भुसाल, डा. विजय पौडेल तथा अधिवक्ता गोविन्द बन्दीको सहयोगमा विधान र साङ्गठानिक संरचनालाई समेत अन्तिम स्वरूप दिइएको छ ।
माधव समूहले आफ्नो पार्टीको नामको अगाडि नेकपा र कोष्ठकमा ९समाजवादी०, ९क्रान्तिकारी० या अन्य केही राख्ने तयारी गरेको छ । साथै चुनाव चिन्ह कलम प्रस्ताव गर्ने तयारी भएको नेताहरूको भनाइ छ । त्यस्तै नयाँ पार्टीको सांगठनिक संरचनामा तत्काल अध्यक्ष र महासचिवसहित केन्द्रीय सदस्य राख्ने सहमति पनि भैसकेको छ ।