महन्थ ठाकुर निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा

काठमाडौं । ११ साउनमा निर्वाचन आयोगले उपेन्द्र यादवलाई जनता समाजवादी पार्टी नेपालको आधिकारिकता दिएसँगै त्यसको विरुद्धमा तत्कालिन अध्यक्ष महन्थ ठाकुर सर्वाेच्च अदालत गएका छन् ।

यादवलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय खारेजीको मागसहित महन्थले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

ठाकुरका पक्षबाट अधिवक्ता प्रदिप कुमार पाठकले शुक्रबार सर्वोच्चमा रिट दायर गराएका हुन्। सर्वोच्च अदालतले रिट दायर गरिसकेको र आइतबारका लागि पेसी तोकेको अधिवक्ता पाठकले जानकारी दिए।

महन्थ ठाकुरको वारेश बनेर अधिवक्ता पाठकले दायर गरेको रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी जसपाको विधान विपरीत भएको दाबी गरिएको छ।

उक्त निर्णयले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३, ४४, ४५ र ५१, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५, तथा प्रमाण ऐन, २०३१ को दफा ३, १४, २१, २५, २६, २८ र ३४ समेतले प्रदान गरेको कानूनी हक एवं नेपालको संबिधान, २०७२ को धारा १७, १८ को उपधारा १ समेतबाट प्रदत्त मौलिक हक एवं धारा २६९ र २७० बाट प्रदत संवैधानिक हकमा आघात परेको पनि रिटमा दाबी गरिएको छ।

रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ।

ताजा समाचार