प्रचण्डपछि नेपाललाई भेटे विप्लवले, के भयो कुराकानी ?

काठमाडौं । शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटघाट तिव्र बनाएका छन् ।

विशेष गरी नयाँ सरकार गठन भएसँगै फेरिएको राजनीतिक परिदृश्यमा उनले कम्युनिष्ट नेताहरुसँग भेटघाट र छलफल गरेका छन् ।

लामो समयदेखि बालुवाटार क्षेत्रमा मात्र रहेका उनी केपी शर्मा ओलीको बहिर्गमन पछि वर्तमान सरकारका हिस्सेदारहरुसँग वार्ता गर्दै आफूले गत फागुनमा ओली सरकारसँग भएका सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उनले हिजो नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेटेरे ३ बुँदे कार्यान्वयन गर्न आग्रह गरे । जवाफमा प्रचण्डले कार्यान्वयन हुनेमा सन्देह नै नगर्न आग्रह गरे ।

बरु अध्यक्ष प्रचण्डले एउटै मोर्चामा आउन र बृहत कम्युनिष्ट एकता गर्ने कार्यमा साथ दिन आग्रह गरे । त्यसै प्रस्तावको ‘हो मा हो’ मिलाउँदै विप्लवले आफूले पनि त्यही चाहेको बताउँदै बरु प्रचण्डलाई सबैलाई मनाएर एकैठाँउमा राख्ने गरी मन ठूलो बनाउन समेत आग्रह गरेका थिए ।

आफू र माधव कुमार नेपाल लामो समयदेखि कार्यगत एकतामा रहेको भन्दै बृहत कम्युनिष्ट एकताको भावनामा अघि बढेको सन्देश विप्लवलाई सुनाए । त्यसपछि विप्लवले सकारात्मक बन्दै रावजनीतिक भेटघाट तिव्र पारेका हुन् ।

आज पनि उनीसहित आफ्ना नेता धर्मेन्द्र बास्तोलासहित कोटेश्वर पुगी नेपाललाई भेटेका छन् । छुट्टाछुट्टै भेटेका विप्लवले पछि प्रचण्ड र नेपालसँगै वार्ता गरेका हुन् ।

उक्त वार्तामा पनि चार शीर्ष नेताहरुवीच बृहत कम्युनिष्ट एकताको विषयमा छलफल भएको बताइएको छ । ओलीबाहेकको कम्युनिष्ट मोर्चा बनाएर अब देशलाई समृद्धिको बाटोमा लैजाने उनीहरुको योजना छ ।

निकट स्रोतका अनुसार यस विषयमा प्रचण्ड र माधवले गत दशैयता नै छलफल चलाएका थिए । यस विषयमा ज्योतिन्यूजले यसअघि नै समाचार समेत प्रकाशन गरिसकेको छ ।

ताजा समाचार