साढे दुई महिनामा तेस्रो पटक खेलकुदमन्त्री बने मनाङे

पोखरा । गण्डकी प्रदेशसभाका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले युवा तथा खेलकुदमन्त्रीको पदभार ग्रहण गरेका छन् ।

गत २९ जेठमा कांग्रेस नेतृत्वमा गठित सरकारमा बिनाविभागीय मन्त्रीको शपथ लिएका उनले एक महिनापछि आइतबार मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

उनी यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको क्याबिनेटमा दुईपटक खेलकुदमन्त्री बनिसकेका छन् ।

गत १६ वैशाखमा मनाङे पहिलोपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए । त्यतिबेला उनी १० दिन खेलकुदमन्त्री रहे ।

मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा दिएपछि मनाङे स्वतः पदमुक्त भएका थिए । २९ वैशाखमा ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्रीमा पृथ्वीसुब्बाले शपथ लिएपछि पुरानै मन्त्रीलाई निरन्तरता दिएका थिए । ९ जेठमा उनी फेरि सोही मन्त्रालयमा दोहोरिए ।

कांग्रेस नेतृत्वको सरकार बनाउन निर्णायक मत दिएका मनाङे गठबन्धन सरकारमा पनि सोही मन्त्रालय सम्हाल्न तयार भएका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरिरहेका मनाङेले आइतबार खेलकुदमन्त्रीको रुपमा पदभार ग्रहण गरेका हुन् ।

ताजा समाचार