स्थगन भयो एमाले कार्यदल बैठक, साँझ बस्ने संभावना

काठमाडौं । ढिला गरी शुरू भएको नेकपा एमाले कार्यदलको बैठक तत्कालको लागि स्थगन गरिएको छ ।
आन्तरिक गृहकार्य गर्ने र साँझ बस्ने गरी बैठक केहीबेर बसेर स्थगन गरिएको एक नेताले बताए ।

एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ सात पुनः बस्ने गरी बैठक सकिएको जानकारी दिनुभयो ।

बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् ।

यसअघि आजको बैठक ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको थियो । माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावल आउन ढिलाइ भएको कारण कार्यदलको बैठक आधा घण्टा ढिला भएको थियो ।

कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । दुई नेताको छलफलमा लुम्बिनीका मुख्यमन्त्री समेत रहेका ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी हुनुभएको थियो । सो भेटबारे जानकारी गराउन रावल माधव नेपाल निवास कोटेश्वर पुग्नुभएको थियो । कोटेश्वरबाट रावल फर्किए लगत्तै कार्यदलको बैठक शुरु भएको थियो ।

बुधबार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता नेपालबीच काठमाडौँको एक होटलमा डेढ घण्टा कुराकानी भएको थियो । छलफलमा ओलीले सर्वोच्चमा बुझाइएको नेताहरूको हस्ताक्षर फिर्ता लिन अनुरोध गर्नुभएको र नेपालले एक पक्षीय रूपमा गरिएका निर्णय कार्यान्वयन नगर्न अनुरोध गर्नुभएको नेताहरूले बताएका छन् ।

नेपाल पक्षका नेता भीमबहादुर रावलका अनुसार दुवै नेताबीचको वार्ता सकारात्मक भएको छ । पार्टी भित्रका विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँको भनाइ छ ।

ताजा समाचार