काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउमा उत्रिनुभएको छ ।
बालुवाटारमा जारी आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठकमा उहाँले संविधनको भावना अनुसार राष्ट्रपतिले काम गरेको भएपनि त्यसप्रति सदैव औँला उठाउने काम भएको भन्दै उहाँको बचाउ गर्नुभएको हो ।
बैठकमा सामेल एक केन्द्रीय कमिटी सदस्यका अनुसार ओलीले भन्नुभयो, ‘राष्ट्रपतिले आफ्नो मर्यादा भुलेको होइन। तर निष्कृष्ट तबरमा ओर्लिएर राष्ट्रपतिमाथि हरेक ठाउँमा औँला उठाइएको छ।’
उहाँले सरकारका निर्णय अनुमोदन गर्ने दायित्व राष्ट्रपतिको भएको बताउनुभयो।
ओलीले बोलाएको बैठकमा उनको पार्टीमा उहाँको कार्यशैली र निर्णयविरुद्ध बिद्रोह गरिरहेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु सहभागी छैनन्।
ओलीलाई नेपाल आफैले पनि बिहीबारको टेलिफोन वार्तामा बैठक स्थगित गर्न आग्रह गरेको र शुक्रबार बिहान पनि नेपाल पक्षका नेताहरुले सोही आग्रह गरेको अवस्था भए पनि ओलीले बैठकलाई अघि बढाएका छन्।
नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले बालुवाटर नै पुगेर एकता अन्तिम चरणमा पुगेकाले शुक्रबार निर्धारित बैठक स्थगित गर्न आग्रह गरेका थिए।
त्यसपछि ओलीले आफूले साथीहरुसँग सल्लाह गर्ने भन्दै उनीहरुबाट बिदा भएका थिए। तर उनले आफूद्धारा पूर्वनिर्धारित बैठक भने स्थगित गरेनन्।