काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् । तर ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे ।
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’
उनले भने, ‘उहाँ (प्रधानमन्त्री)ले अदालतमा धम्की दिइरहनुभएको छ । न्यायाधीशहरुले प्रधानमन्त्रीको धम्कीमा जाने हो भने के होला देश ? कहाँबाट न्यायालय टिक्ला त ? कार्यकारीले सत्ताको दुरुपयोग गर्न सक्दछ । कार्यकारी पावर भनेको जहिलेपनि तानाशाही प्रवृत्तिको हुन्छ । संसद पनि कहिलेकाहीँ ठप्प गरिदिनसक्छ बहुमतको आधारमा । तर एउटा मात्रै संस्था छ जो न्याय गर्छ । त्यो हो न्यायालय । त्यसकारण स्वतन्त्र न्यायालय भनेको त्यो हो । त्यो मात्रै स्वतन्त्र न्यायालय हो । प्रधानमन्त्रीको केही लाग्दैन यहाँ । कतिवटा प्रधानमन्त्रीको केही लागेन नि यहाँ ।’
देउवाले ओलीको धम्कीबाट कुनैपनि न्यायाधीशहरु नडराउने विश्वास लिएकाे र सम्पूर्ण देश, राष्ट्र संविधान बचाउने पछाडि रहेको पनि बताए । उनले थपे, ‘संविधानले दिएको कुरा गरेको हो हामीले । न्यायाधीशलाई डराउने, तर्साउने काम छैन । विवेकपूर्ण न्यायका लागि हामीले अनुरोध गर्ने हो ।’