संसद्‍ सचिवालयमा बेदुरामको पत्र : म स्वतन्त्र सांसद

काठमाडौं

नेकपा (एमाले) नेता एवम् राष्ट्रियसभा सदस्य बेदुराम भुसालले संघीय संसद्‍ सचिवालयमा पत्र लेख्दै आफूलाई स्वतन्त्र सांसदको व्यवहार गर्न अनुरोध गरेका छन्। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई २०७७ फागुन २३ को सर्वोच्चको फैसलाले विघटन गरेपछि आफू पार्टीको उम्मेदवार नभइ स्वतन्त्र भएको उनको भनाइ छ। ‘म तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिएँ र त्यस पार्टीको संघीय संसदीय दलको सदस्य रहेको थिएँ’, भुसालले भनेका छन्, ‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भई निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलबिहीन अर्थात् स्वतन्त्र हुन पुगेको सर्वविदितै छ ।’ 

उनले अहिले आफू एमाले र माओवादी केन्द्र दुवैको संसदीय दलको सदस्य नभएको र सभाको स्वतन्त्र सदस्यको रुपमा रहेको बताएका छन्। 

‘तत्पश्चात् म नेकपा (एमाले) वा नेकपा (माके) कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु’, उनले थप भनेका छन् । 

उनले स्वतन्त्र रुपमा नै आफू आगामी दिनमासमेत रहन चाहेको उल्लेख गरेका छन्। आफूलाई सभाका सबै गतिविधिमा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न अनुरोध गर्दै उनले यो विषयमा सम्बन्धित सबैलाई आवश्यक जानकारी एवम् निर्देशन दिन भनेका छन्। 

उनले आफूले पाउने पारिश्रमिक र अन्य सेवा सुविधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिन अनुरोधसमेत गरेका छन्। 

‘मलाई सभाका सबै गतिविविधमा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्नुहुन अनुरोध गर्दछु र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिनुहुन पनि हार्दिक अनुरोध गर्दछु’, भुसालले भनेका छन्, ‘साथै मैले पाउने पारिश्रमिक र अन्य सुविधाबाट लेवी वा अन्य कुनै रकम कुनै पनि दलको खातामा जम्मा नगरिदिनका निम्ति लेखा शाखालाई निर्देशन गरिदिनुहुन पनि अनुरोध गर्दछु।’ 

ताजा समाचार