‘प्रधानन्यायाधीश विवादबारे पार्टीले नबोले कांग्रेसले नै मूल्य चुकाउनुपर्छ’ – गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानन्यायाधीश विवादबारे पार्टीको आधिकारिक धारणा आउनुपर्ने बताएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनका बावजुत नेता थापाले अदालतबारे चुप लाग्न नहुने बताएका हुन्।

आइतबार बूढानीलकण्ठस्थित देउवा निवासमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा थापाले यस्तो बताएका हुन्। बैठकमा थापाले अदालतबारे बोल्दा सभापति देउवाले भने यसबारे अहिले नबोल्न निर्देशन दिएका थिए । उनले अहिले यो विषयमा बोल्न नहुने भन्दै थापालाई रोक्ने प्रयास गरे । ‘अहिले अदालतको विषयमा नबोल्नू,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै कांग्रेसका एक नेताले बताए ।

तर थापाले अदालतको विषय बोल्नैपर्ने विषय भएको भन्दै यो समस्या चर्कियो भने अहिलेको व्यवस्थाले नै मूल्य चुकाउनुपर्ने बताएका थिए । साथै यो समस्या समाधान नगर्दा पार्टीको महाधिवेशनसम्मै अवस्था बिथोलिने थापाको तर्क थियो । अदालतको विवादलाई गम्भीर रुपमा लिनुपर्ने र यसबारे सभापतिको ध्यान जानुपर्ने उनको अडान थियो ।

प्रधानन्यायाधीश विवादलाई लिएर यसअघि पनि पार्टीको आधिकारिक धारणा आउनुपर्ने भन्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरूले सभापतिलाई दबाब दिँदैआएका छन् । पार्टीले भने अदालतबारे ठोस् धारणा सार्वजनिक गरेको छैन ।

ताजा समाचार