बैतडी पुगेका पूर्वाधारमन्त्री बिरामी परे, हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी

काठमाडौं । सुदुरपश्चिम भ्रमणमा रहेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल बिरामी परेका छन् । उनलाई आज बिहानदेखि ज्वरोले सताएको हो ।

बैतडीको गोठालापनीमा पुगेका बेला मन्त्री लम्साल अचानक अस्वस्थ बनेका हुन् । बिहानबाट हनहनी ज्वरो आएपछि जिल्ला अस्पतालका चिकित्सकलाई बोलाइएको थियो । चिकित्सकले भाइरल ज्वरो भनेका छन् ।

मन्त्री लम्सालसँगै रहेका उनको सचिवालयका एक सदस्यले आजै काठमाडौं ल्याउने तयारी भइरहेको बताए ।

उनले भने, ‘अवस्था अलि गम्भीर नै छ । यहाँ राम्रा डाक्टर पनि छैनन् । काठमाडौं ल्याउनका लागि हेलिकप्टरको व्यवस्था हुँदैछ ।’

मन्त्री लम्साल अहिले होटलमै सुतिरहेको उनले जानकारी दिए । शुक्रवार धनगढी पुगेका उनले डोटीको वीपीनगर गएर धनगढी दिपायल द्रुतमार्गको अवलोकन गरेका थिए । त्यहाँबाट आफैँले गाडी चलाएर दार्चुला र त्यसपछि बैतडी पुगेका हुन् ।

जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले शनिबार बिहान मन्त्री लम्सालको स्वास्थ्य परीक्षण गरेका थिए । उनका अनुसार लम्साललाई सामान्य भाइरल ज्वरो र रुघाखोकीको समस्या देखिएको छ ।

बैतडीकी सीडीओ मीना अर्यालले मन्त्री लम्साललाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिइन् । यद्यपि मौसमको अवस्था हेरेर हेलिकप्टर आउने विषय टुंगो लाग्ने उनले बताइन् ।ज

स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री लम्सालका बझाङ जानेलगायतका निर्धारित कार्यक्रम प्रभावित भएका छन् ।

सुदूरपश्चिम भ्रमणका क्रममा मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गरेका थिए । त्यसपछि दार्चुला पुगेर महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षण गरेका थिए ।

दार्चुलाबाट शनिबार अबेर साँझ आफैँ गाडी चलाएर बैतडी पुगेका मन्त्री लम्साललाई त्यहाँ पुगेपछि स्वास्थ्यमा समस्या देखिएको हो ।

ताजा समाचार