काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसा प्रणालीमार्फत दक्ष नेपाली कामदार पठाउन चाँडै सुरु हुने भएको छ ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावास, सियोलले आधिकारिक रुपमा ई–७ भिसा श्रेणी अन्तर्गत दक्ष कामदारको मागपत्र प्रमाणीकरण गर्ने कार्यको थालनी गरेको हो ।
१२ अगस्ट २०२६ देखि लागू भएको नयाँ व्यवस्था अनुसार दक्षिण कोरियाका रोजगारदाताले नेपालबाट दक्ष कामदार लैजानुपूर्व अनिवार्य रुपमा आफ्नो कामदारको मागपत्र नेपाली राजदूतावासबाट प्रमाणीकरण गराउनु पर्ने हुन्छ । मागपत्र पेस गर्ने प्रक्रियाका लागि रोजगारदाताहरुले विभिन्न विकल्पहरु पाउन सक्नेछन् ।
रोजगारदाताहरुले आफैँ स्वयम्, आफ्नो अधिकृत प्रतिनिधिमार्फत वा तोकिएका अधिकृत नेपाली तथा कोरियाली भर्ती संस्थामार्फत राजदूतावासको तोकिएको अनलाइन पोर्टल प्रयोग गरेर मागपत्र पेस गर्न सक्नेछन् ।
अनलाइनमार्फत मागपत्र पेस गर्नका लागि आधिकारिक पोर्टलको व्यवस्था गरिएको छ । मागपत्र प्रमाणीकरणको प्रक्रियामा ११ प्रकारका कागजातहरू अनिवार्य रूपमा पेस गर्नुपर्ने छ ।
रोजगारदाताले कोरियाको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरिएको मागपत्रको सक्कल र प्रतिलिपि, कोरियाको परराष्ट्र मन्त्रालयबाट नै प्रमाणीकरण गरिएको कोरियाली भर्ति संस्थालाई दिएको अधिकार पत्र वा रोजगारदाता र भर्ती संस्था बीचको सम्झौता बुझाउनु पर्नेछ ।
यस प्रक्रियामा नेपाली राजदूतावासलाई सम्बोधन गरिएको जिम्मेवारीपत्र र प्रतिबद्धतापत्रको सक्कल प्रति, रोजगारी सम्झौता र कामको विस्तृत विवरण पेस गर्नु पर्ने नेपाली राजदूतावासले निकालेको सूचनामा उल्लेख छ ।
कोरियाली भर्ती संस्थाले नेपाली भर्ति संस्थालाई दिएको अधिकार पत्र र दुई पक्ष बीचको सम्झौतापत्र पनि कोरियाली परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गराएर पेस गर्नु पर्नेछ ।
कामदारहरुको भाषा तथा सीप परीक्षण सम्बन्धी प्रतिबद्धतापत्र पनि यसैमा समावेश गरिएको छ ।
यसका अतिरिक्त, वास्तविक कोरियाली रोजगारदाताको व्यवसाय दर्ता प्रमाणपत्र, प्रमुख कार्यकारी अधिकृतको परिचयपत्रको प्रतिलिपि, कम्पनीको विवरण तथा सञ्चालन अनुमतिपत्र अनिवार्य रूपमा पेस गर्नु पर्नेछ ।
कोरियाली भर्ती संस्थाको व्यवसाय दर्ता प्रमाणपत्र, प्रमुख कार्यकारी अधिकृतको परिचयपत्रको प्रतिलिपि र कम्पनीको विवरण पनि आवश्यक कागजात भित्र पर्दछन् ।
नेपाल तर्फको प्रक्रियाका लागि वैदेशिक रोजगार विभागले जारी गरेको नेपाली भर्ती संस्थाको इजाजतपत्र पेस गर्नु पर्नेछ । साथै, सम्बन्धित सरकारी निकायले जारी गरेको ई–७ भिसा अन्तर्गत विदेशी कामदारको आवश्यकता रहेको आधिकारिक कागजात पनि अनिवार्य गरिएको छ ।
राजदूतावासले रोजगारदाताहरूलाई तोकिएका सबै आवश्यक कागजातहरू पूर्ण पेस गर्नु पर्ने छ । मागपत्र प्रमाणीकरणका लागि आवश्यक कागजातका ढाँचा, आवेदन प्रक्रिया र प्रमाणीकरण शुल्क सम्बन्धी थप जानकारीका राजदूतावासको आधिकारिक वेबसाइटमार्फत लिन सकिने छ ।
मेनपावर व्यवसायीहरु भने अहिले आन्दोलनरत अवस्थामा रहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले दक्षिण कोरियाको लागि ई–७ भिसामा श्रमिक पठाउने प्रक्रिया अन्तर्गत मागपत्र प्रमाणीकरण गर्ने विषयमा सरकारले आवश्यक निर्णय र सम्बोधन गरेको बताए ।
उनले भने, ‘ई–७ भिसामा श्रमिक पठाउने विषयमा विगतदेखि नै एजेन्डा उठाइँदै आएको र हालै मागपत्र प्रमाणीकरण गर्ने प्रक्रिया सुरु भएको छ । हाल आन्दोलनका कार्यक्रमहरु र कोरियाबाट श्रमिक पठाउने विषयको उठान सँगसँगै भइरहेका छन् । हामीले अहिले कुनै पनि देशमा श्रमिक नपठाउने घोषणा गरेर आन्दोलनमा छौं ।’
आन्दोलन नरोकी मेनपावर व्यवसायीहरूले कोरियामा श्रमिक पठाउन सुरु गर्दैनन् । कोरिया जान चाहने श्रमिकहरूका लागि बजार प्रवद्र्धन र मागपत्र ल्याउने विषयमा व्यवसायीहरूले आ–आफ्नो तर्फबाट पहल जारी राखेका छन् ।
‘सरकारले व्यवसायीको माग सम्बोधन गरेपछि मात्रै हामी कोरिया लगायत अन्य देशमा श्रमिक पठाउने छौं,’ उनले भने ।
गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि २०८० नै लागू हुने छ । यो कार्यविधि २०८१ कार्तिक ९ पहिलो र २०८२ असार ९ गते दोस्रो संशोधन भएको थियो । सूचनामा सन् २०२४ मा बनेको कार्यविधि नै लागु हुने भनिएको छ ।