थवाङमा पहिरोमा परी बेपत्ता ९ जनाको खुल्यो पहिचान

रोल्पाको थवाङमा पहिरोमा परी बेपत्ता भएका ९ जनाको पहिचान खुलेको छ।

बुधबार बेलुकी ९ बजे थवाङ गाउँपालिका बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा बिहीबार दुई जनाको मृत्यु र १० जना बेपत्ता थिए।

बिहानपख थप एक महिला मृत भेटिएकी थिइन्।

पहिरोमा परी अझै ९ जना बेपत्ता भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी पञ्चकुमार बाखुले जानकारी दिए।

बेपत्ता हुनेहरूमा ४ जना पुरूष, ३ जना महिला र २ जना बालक छन्। कमलबहादुरकी छोरी ४० वर्षीया जुनकुमारी पुन मगर पनि बेपत्ता छिन्।

त्यस्तै ९ वर्षीय अशिम पुन मगर,  ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय  अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर,  ७२ वर्षीय  लिलबहादुर पुन मगर,  ७१ वर्षीया मणी पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर पहिरोमा हराइरहेको डिएसपी बाखुले जानकारी दिए।

कमलबहादुर, १८ वर्षीया शान्ति पुन मगर र ७१ वर्षीय मनरखी पुन मगरको शव पहिरोबाट निकालिएको छ।

पहिरोमा बेपत्ताहरुको खोज तथा उद्धारका लागि जिल्लाका प्रहरी प्रमुख डिएसपी बाखु, जिल्लास्थित नेपाली सेनाको श्री सूर्य दल गण प्रमुख सेनानी दिपेश खड्का र जिल्लास्थित सशस्त्र प्रहरी बल आश्रित गुल्मबाट सहायक प्रहरी नायब उपरीक्षक नेतृत्वको टोली र इलाका प्रहरी कार्यालय थवाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगाले नेतृत्वको  टोली घटनास्थलमा खटिएको छ।

ताजा समाचार