बलिउड अभिनेता प्रदीपसिंह रावतको निधन

काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता प्रदीपसिंह रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। रक्त क्यान्सरबाट पीडित रावतको मंगलबार साँझ भारतको मुम्बईमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार केही वर्षअघि क्यान्सरमुक्त भएका रावतमा पछिल्लो समय रोग पुनः देखिएपछि उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारकै क्रममा उनको निधन भएको हो।

रावतले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम तथा अन्य भारतीय भाषाका चलचित्रमा सशक्त अभिनय गर्दै विशिष्ट पहिचान बनाएका थिए। उनले भारतीय टेलिशृंखला ‘महाभारत’ मा अश्वत्थामाको भूमिका निर्वाह गरी दर्शकमाझ लोकप्रियता हासिल गरेका थिए। त्यसपछि ‘सरफरोस’, ‘लगान’, ‘गजिनी’, ‘बाघबान’ लगायतका सफल चलचित्रमा खलपात्रका रूपमा अभिनय गर्दै भारतीय चलचित्र उद्योगमा आफ्नो छुट्टै छाप छाडेका थिए।

नेपाली चलचित्र क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान रहेको छ। निर्देशक चन्द्र पन्तद्वारा निर्देशित ‘आबाट आमा’, ‘आबाट आमा–२’ तथा ‘ह्रस्व दीर्घ’ मा उनले अभिनय गरेका थिए। अभिनेत्री विपना थापासँगको सहकार्यका कारण उनी नेपाली दर्शकमाझ पनि परिचित थिए।

रावतको निधनप्रति भारतीय तथा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन्। नेपाली अभिनेत्री विपना थापाले पनि सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली अर्पण गर्दै उनीसँगको सहकार्य र आत्मीय सम्बन्धको स्मरण गरेकी छन्।

लामो अभिनय यात्रामा विभिन्न भाषाका चलचित्र र टेलिशृंखलामार्फत प्रभावशाली भूमिका निर्वाह गरेका रावतलाई भारतीय चलचित्र उद्योगका सफल तथा बहुआयामिक अभिनेतामध्ये एकका रूपमा स्मरण गरिनेछ। उनको निधनले भारतीयसँगै नेपाली चलचित्र क्षेत्रले पनि एक अनुभवी कलाकार गुमाएको छ।

ताजा समाचार