काठमाडौँ — पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को ट्र्याकिङ उपकरणले अझै पनि गतिविधि (मुभमेन्ट) देखिएको जानकारी आएको छ ।
निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड) ले शुक्रबार बिहान कान्तिपुरसँग कुरा गर्दै ट्र्याकिङ प्रणालीमा निर्मल पुर्जाको लोकेसन परिवर्तन भइरहेको देखिएको बताए ।
उनका अनुसार हिमपहिरोपछि ट्र्याकिङमा सुरुमा उनी तल झरेको देखिए पनि त्यसपछि उपकरणको लोकेसन फेरि परिवर्तन भएको देखिएको छ । ‘ट्र्याकिङ हेर्दा निम्सदाइको मुभमेन्ट देखिइरहेको छ। हिमपहिरोसँगै तल झरेको जस्तो देखिए पनि जहाँ ट्र्याक रोकिएको थियो, त्यसपछि फेरि लोकेसन सरेको देखिन्छ,’ उनले भने।
प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिडले यो घटना बिहीबार बिहान भएको भए पनि आफूहरूलाई विस्तृत जानकारी भने बिहीबार बेलुका मात्रै प्राप्त भएको बताए । ‘हामीलाई पनि बेलुकातिर मात्रै थाहा भयो। सुरुमा के भएको हो भन्ने स्पष्ट जानकारी थिएन,’ उनले भने।
ब्रड पिकमा सञ्चालन भइरहेको वर्तमान आरोहण अभियान विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूको संयुक्त सहभागितामा भइरहेको उनले बताए । उनका अनुसार निर्मल पुर्जा सहभागी टोली उनको कम्पनीसँग सम्बन्धित भए पनि सोही क्षेत्रमा सेभेन समिट ट्रेक्स, इमाजिन नेपाल लगायतका अन्य कम्पनीका आरोहीहरू पनि रहेका छन्। सम्पर्कविहीन सूचीमा विभिन्न कम्पनीका सदस्यहरू परेको उनले जानकारी दिए।
घटनापछि बेसक्याम्पबाट प्रारम्भिक खोजी सुरु भइसकेको छ । उनका अनुसार एक पाकिस्तानी र एक नेपाली पर्वतारोही सम्भावित घटनास्थलतर्फ स्थलमार्गबाट गएका छन्।
मिङ्माले आफू पाकिस्तानस्थित अल्पाइन क्लब अफ पाकिस्तान र त्यहाँका पर्वतारोहण समुदायसँग निरन्तर सम्पर्कमा रहेको बताए । घटनाबारे सामाजिक सञ्जाल वा अनलाइन समाचारभन्दा प्रत्यक्ष सम्बन्धित निकायबाट जानकारी लिइरहेको उनले उल्लेख गरे ।
‘म पाकिस्तान अल्पाइन क्लबका पदाधिकारीहरूसँग निरन्तर सम्पर्कमा छु । त्यहीँबाट वास्तविक अपडेट आइरहेको छ,’ उनले भने।पाकिस्तानको ब्रड पिकमा बिहीबार गएको हिमपहिरोपछि निर्मल पुर्जासहित करिब १० जना आरोहीसँग सम्पर्क विच्छेद् भएको छ। पाकिस्तानका उद्धार निकाय र अल्पाइन क्लबले मौसम अनुकूल हुनासाथ हेलिकप्टरमार्फत खोज तथा उद्धार अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।