खगेन्द्र सुनारलाई कानूनबमोजिम कारबाही हुन्छ : प्रहरी

काठमाडौं । विभिन्न फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका खगेन्द्र सुनारलाई प्रहरीले कानूनबमोजिम कारबाही गर्ने भएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला अदालते साउन ५ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा सुनारलाई पक्राउ गर्ने तयारी गरेको हो । विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा जिल्ला अदालतले साउन २ गते सुनारलाई दोषी ठहर गर्दै पक्राउ गरी कारबाही अगाडि बढाउने आदेश गरेको थियो । सोही आदेशबमोजिम ५ गते पक्राउ पुर्जी जारी भएको हो ।

यससँगै सुर्खेत जिल्ला अदालतले २०८१ असार २१ गते तोडफोड तथा हातपातसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध बहुविवाह मुद्दा दर्ता छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ पुर्जी जारी गरिएको जोकोही व्यक्तिलाई पक्राउ गर्नु प्रहरीको नियमित कार्य भएको बताए ।

‘मान्छे को हो, कस्तो हो भनेर हामीले हेर्ने होइन, पक्राउ पुर्जी जारी भएको छ भने कानूनबमोजिम कारबाही गर्छौँ’, उनले भने ।

‘सुनारविरुद्ध पनि विभिन्न जिल्लामा मुद्दा रहेको र दुई जिल्लाबाट पक्राउ पुर्जी नै जारी गरिएको अवस्थामा प्रहरीले के गर्छ ?’ नेपाल प्रेसको यो प्रश्नमा डीआईजी घिमिरेले भने, ‘कानूनबमोजिम कारबाही हुन्छ ।’

ताजा समाचार