काठमाडौं । मधेशका ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि भएको ठेक्कामा भ्रष्टाचार भएको ठहरसहित प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन सचिव इमनारायण श्रेष्ठसहित १४ जना र हस्पिटेक इन्टरप्राइजेज प्रालि उपर विशेष अदालतमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट आर्थिक वर्ष २०७८/०७९ मा आह्वान गरिएको प्रयोगशालाका सामान खरिद, वितरण तथा स्थापनामा ठेकेदार कम्पनी हस्पिटेक इन्टरप्राइजेज प्रालिका संचालक विशाल पण्डितसँगको सेटिङ देखिएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २५ करोड ३८ लाख ५३ हजार १२० रूपैयाँ बजेटको सार्वजनिक खरिद नियमावली, ऐन र आर्थिक कार्यविधिविपरीत खरिद कार्य गर्नु पूर्वतयारीको कार्य नगराई विश्लेषणसमेत नगरी ठेक्का आव्हान गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले तत्कालीन सचिव इमनारायण श्रेष्ठ, हस्पिटेक इन्टरप्राइजेज प्रालि तीनकुने काठमाडौं र कम्पनी सञ्चालक विशाल पण्डितसहित लेखा अधिकृत दास, तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक मुक्तिनारायण साह, प्रदेश प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्र, वरिष्ठ ल्याव टेक्निसियन निरीक्षक गुणानन्दप्रसाद साहविरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै अन्य प्रतिवादीमा मेडिकल ल्याव टेक्नोलोजिष्ट मनमोहन मिश्र, ल्याव टेक्निसियन निरीक्षक रामउदगार यादव, अधिकृत नवौ तहका माइक्रो बायोलोजिष्टहरू जितेन्द्रकुमार साह, अमरेन्द्रकुमार मिश्र, ल्याव असिष्टेन्ट रमेश कुमार मण्डल, लेख अधिकृत अमरदीप महतो, कर्मशील प्रशाद गोप, वरिष्ठ ल्याव अधिकृत उमेश चौधरी छन् ।
उनीहरूलाई जनही १९ करोड ४६ लाख १३ हजार १२० रूपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।