लन्डनमा हुने १५ औं नेपाली मेलाको तयारी पुरा

लन्डन

प्रत्येक वर्ष तमुधिं यूकेको आयोजनामा हुने नेपाली मेलाको तयारी पुरा भएको छ । अगामी आइतवार (२५ अगष्ट) लण्डनमा आयोजना हुने १५ औं नेपाली मेलाको तयारी पुरा भएको तमुधिं यूकेले जानकारी दिएको हो ।

आइतबार तमुधिं भवनमा आयोजित पत्रकार सम्मेलनमा तमुधिं यूकेका अध्यक्ष हरि गुरुङले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव नारासहित आयोजना हुने मेलाको तयारी पुरा भएको जानकारी दिएका हुन। गुरुङले आगामी नेपाली मेलालाई गत वर्षहरुको मेला भन्दा थप व्यवस्थित र आकर्षित बनाउन प्रयासरत रहेको बताए । गुरुङले बेलायतस्थित नेपाली समुदायलाई नेपाली मेलामा सहभागी हुन आग्रहसमेत गरे ।

कार्यक्रममा नेपाली मेलाका संयोजक तथा संस्थाका उपाध्यक्ष परशु गुरुङले बेलायतमा नेपाली भाषा, भेषभूषा, धर्म, संस्कृति र परम्पराको प्रर्वधन गर्न मेलाको महत्वपूर्ण भूमिका हुने बताए । उनले नेपाली मेलाले नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृति सिकाउन मद्दत पुग्ने बताए। मेलामा ७ हजार भन्दा बढी दर्शकको सहभागिता हुने अपेक्षा गरिएको छ ।

सन् २००९ देखि सुरु भएको मेलाको मुख्य उद्देश्य बेलायतस्थित नेपाली संघसंस्थाबीचको सम्बन्ध प्रगाढ बनाउन, नेपाली कला संस्कृतिको प्रर्वधन गर्न कोषेढुंगा हुने तमुधिं यूकेले जनाएको छ ।

नेपाली दुतावास लण्डनको सहकार्यमा आयोजना हुने मेलामा प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, विभिन्न देशका कूटनीतिज्ञ, मेयर, काउन्सिलरलगायत स्थानीय संघसस्थाहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

नेपालबाट आएका कलाकारहरुको विषेश प्रस्तुति रहने नेपाली मेलामा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ, नेपाली दूतावास लण्डनकी कार्यवाहक राजदुत रोशन खनाल लगायतले सम्बोधन गर्ने भएका छन् ।

मेलामा ४२ वटाभन्दा बढी झाँकीहरु प्रस्तुत हुने छन् भने ५० भन्दा बढी संघसंस्थाको सहभागिता रहने छ । उत्कृष्ट झाँकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोश्रोलाई तीन सय र तृतीय हुनेलाई २०० पाउण्ड दिइनेछ भने सान्त्वना पुरस्कार स्वरुप तीन समूहलाई २०० पाउण्डका दरले पुरस्कृत गरिने मेला संयोजकले जनाए ।

झाँकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११ सय पाउण्ड नगदसहित एम्बासडर कप तथा ३ सय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७ सय पाउण्ड एवं तृतीय हुने टिमलाई ५ सय पाउण्ड नगद र प्रमाणपत्र प्रदान गरिनेछ ।

मेला आयोजना गर्न ४२ हजार ५ सय पाउण्ड अनुमानित खर्च लाग्ने आयोजकले जनाएका छन् । मेलमा प्रवेश र कारपार्क शुल्क ५ पाउण्ड तोकिएको छ ।

कार्यक्रममा तमुधिं यूके संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, पूर्व अध्यक्षहरु रामचन्द्र सुर्जे गुरुङ र ज्ञाम गुरुङका साथै नेपालबाट आएका कलाकारहरु संस्थाका सल्लाहकार कार्यसमितिका पदाधिकारीहरु,आमा समूहलगायतको उपस्थिति थियो।

ताजा समाचार