काठमाडौँ —कक्षा १२ को शुक्रबार सुरु हुने परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना छात्र गरी ३ लाख ९० हजार ८ सय ४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेडवृद्धितर्फका विद्यार्थी हुन् ।
७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन हुनेछन् । गतवर्षभन्दा यसपालि १८ हजार परीक्षार्थी बढेकाले परीक्षा केन्द्र पनि अघिल्लो वर्षको तुलनामा थपिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जनाए ।
सबैभन्दा बढी काठमाडौंमा १ सय ४४ र मनाङ/मुस्ताङमा एक/एक वटा परीक्षा केन्द्र तोकिएको छ । काठमाडौंमा यस पटक स्वचालित (स्यान्डम) प्रक्रियाबाट परीक्षा केन्द्र तोकिएको हो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने परीक्षा समन्वय समितिको सिफारिसमा परीक्षा केन्द्र तोक्ने व्यवस्था छ । तर काठमाडौंमा परीक्षणका रूपमा समितिले स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेको उनले बताए ।
२०७६ को कोभिड महामारीयता बोर्डले कक्षा १२ को प्रश्नपत्र अनलाइनबाटै पढाउने व्यवस्था गर्दै आएको छ । चैतमा सञ्चालित एसईई परीक्षामा भने छपाइ गरेरै परीक्षा केन्द्रहरूमा प्रश्नपत्र पठाइएको थियो । परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १ सय ७१ जनशक्ति खटिँदै छन् भने १८ हजार ३ सय प्रहरी परिचालन हुने बोर्डले जनाएको छ । उत्तरपुस्तिकासहित परीक्षा सामग्री केन्द्रमा पुगिसकेको बोर्डले जनाएको छ । केन्द्राध्यक्षको अभिमुखीकरण पनि सकिएको सदस्यसचिव अर्यालले बताए ।