राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुगेका छन ।
अमिर अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत मन्त्रिपरिषद्का सदस्यले स्वागत गरेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ । त्यसबाहेक औपचारिक वार्तामा बस्ने ११ जनाको विशेष प्रतिनिधि मण्डल छुट्टै रहेको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सोही विशेष प्रतिनिधि मण्डल साथमा रहने छ ।
यसैविच राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर ( राजा ) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।
भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ ।

भ्रमण दलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखी छन् ।
यसैगरी अमिरी दिवानको अध्ययन र अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी, कतार लगानी प्राधिकरण (क्यूआईए)को एसिया र अफ्रिका लगानी प्रमुख शेख फैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, अमिरको स्वकीय सचिवालयका प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा अमिर (राजा) का निजी सहायक मन्सुर फलेह अल–हजरी भ्रमण दलमा छन् ।

कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछन्।