पीएनजीलाई निरीह बनाउँदै नेपालको कीर्तिमानी जित, ८ ओभरमै भेट्यो लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको म्याचमा नेपालले पपुवा न्यूगिनीविरुद्ध सहज जित हासिल गरेको छ । उत्कृष्ट बलिङ गर्दै पीएनजीलाई ९५ रनमा समेटेको नेपालले विष्फोटक ब्याटिङसहित ७.४ ओभरमै लक्ष्य भेट्यो ।

नेपालका आसिफ शेखले आक्रमक अर्धशतक प्रहार गरे । उनले २१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अविजित ५३ रन बनाए । यो उनको आठौं एकदिवसीय अर्धशतक हो । त्यसअधि, कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट हुँदा कुशल मल्ले १२ रन बनाए । पीएनजीका चाड सोपरले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको पीएनजीका ७ ब्याटर दोहोरो अंकमा रन नबनाई आउट भए । पीएनजीका कप्तान आसाद भाला ३१ बलमा २ चौकासहित सर्वाधिक २० रन बनाएर सन्दीप लामिछनेको बलमा क्याचआउट भए । सेसे बाउ १८ रनमा बोल्ड भए ।

ओपनर हिरीहिरीलाई १४ रनमा सोमपाल कामीले करण केसीबाट क्याचआउट गराउँदै पभेलियन फर्काउँदा, चाल्र्स अमिनीले १६ रन योगदान गरे । सन्दीप लामिछानेले नेपालका लागि उत्कृष्ट बलिङ गरे । उनले, १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चिएर सर्वाधिक ५ विकेट लिए ।

ललितनारायण राजवंशी र कुशल मल्ले २-२ विकेट लिँदा सोमपाल कामीले एक विकेट लिए ।

ताजा समाचार