ज्यान जोगाउन १२औँ तलाबाट हाम फाले, तर बाँच्न सकेनन् निराकार

कम्बोडियाको एक क्यासिनो भवनमा आगलागी हुँदा झापाका निराकार पाण्डेको मृत्यु भएको छ।

तिहारपछि मात्रै व्यावसायिक काममा कम्बोडिया पुगेका पाण्डेको मृत्यु भएको हो। 

झापाको बिर्तामोड घर भएका ४० वर्षीय उनको मृत्युको पुष्टि परिवारले गरेको छ। परिवारले जनाएअनुसार उनी आफू बसेको भवनमा आगलागी हुँदा घरबाट हाम फालेका थिए।  

निराकार बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्नि प्रसाद पाण्डेका छोरा हुन्। अग्निका ४ छोराछोरी छन्। 

व्यावसायिक कामका लागि गएका थिए कम्बोडिया
निराकार तिहार सकिएलगत्तै व्यावसायिक कामका सिलसिलामा कम्बोडिया पुगेका थिए। तर यति चाँडै छोराको मृत्युको खबर सुन्नुपर्दा उनको परिवार शोकमा डुबेको छ। 

कम्बोडियामा मृत्यु भएका निराकार अग्निका माइला छोरा हुन्। 

‘छोरा रोजगारी होइन व्यावसायिक कामको लागि गएको थियो’, शुक्रबार नेपालखबरको फोन सम्पर्कमा थोरै बेर उपलब्ध भएका निराकारका बुबा अग्निले भावविह्वल हुँदै भने, ‘तिहारपछि मात्रै त्यहाँ गएको हो।’

भएको के हो? 
निराकार कम्बोडियाको थाइल्यान्डसँगको सीमावर्ती सहर पोइपेतस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो एन्ड होटलमा बसेका थिए। १७ तले उक्त भवनमा उनी १२औँ तलामा थिए। 

बिहीबार राति उक्त आगलागी भएको थियो। भवनमा आगलागीको कारण एकीन नभए पनि विद्युत् शर्ट भई आगो लागेको हुनसक्ने एजेन्सीहरुले जनाएका छन्। 

आगलागी भइसकेपछि आफ्नो अन्तिम समय नै आएको ठानेर उनले घरपरिवारलाई भिडियो कल गरेका थिए। 

होटलबाट पाण्डेले बुवा, आमा, श्रीमती र छोरासँग कुराकानी गरेका थिए। पाण्डेले आफ्ना छोरासँग कुराकानी गरेको अन्तिम समयको भावुक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

भिडियोमा उनले छोरालाई भनेका छन्, ‘म तिमीलाई धेरै माया गर्छु। बाबा अलवेज लभ्स यू! 

छोरालाई ‘राम्रो मान्छे बन्नु है छोरा, कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नु हुन्न’ भनी सम्झाएको सुनिन्छ। पृष्ठभूमिमा दमकलको साइरनको आवाज सुनिन्छ। धूवाँ फैलिँदै गरेको भिडियोमा देखिन्छ। 

उनले हाम फाल्नुअघि नौ वर्षीय छोरालाई ‘मामुलाई माया गर्नु, सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ भन्दै धेरै सम्झाएका छन्। 

‘तिमीसँग बिताएका पलहरु सधैँ यादगार रहनेछन्’, निराकार पाण्डेले परिवारसँगको भिडियो कुराकानीमा भनेका छन्। 

आगलागीकै समयमा लामो भिडियो कुराकानी
निराकारका बुबा अग्नि प्रसाद पाण्डेले आगलागी भएकै समयमा छोराले लामो कुराकानी गरेको नेपालखबरसँग बताए। 

‘छोरासँग नियमित सम्पर्कमै थियौँ’, पाण्डेले भने, ‘आगलागी हुँदा नै कुरा भएको हो।’

परिवारसँग लामो कुरा गरेपछि उनले होटलबाट हाम फालेका थिए। उनका बुबा अग्निका अनुसार शव नेपाल ल्याउने प्रयासमा परिवार लागेको छ। 

‘छोराको मृतशरीर ल्याउने प्रयासमा लागेका छौँ’, बुबा पाण्डेले भने, ‘तर सरकारी विदैविदा हुँदा मन्त्रालयमा कुरा गर्न अप्ठ्यारो भइरहेको छ।’

शुक्रबार नेपालमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा छ। शनिबार नियमित सरकारी विदा पर्छ भने आइतबार कम्बोडियामा नयाँ वर्ष भएकाले विदा हुन्छ। 

यसकारण शव नेपाल ल्याउने प्रक्रिया सुरु हुन नै अब कम्तीमा तीन दिनपछि मात्र हुने देखिएको छ।  

लगातार सार्वजनिक विदा हुँदा शोकमा डुबेको परिवारमा थप छटपटी बढेको छ। 

रोयटर्सका अनुसार उक्त घटनामा कम्तीमा पनि २७ जनाको मृत्यु भएको छ। हालसम्म ८ जनाको शव उद्धारकर्ताहरुले निकाले पनि अझै धेरै जना हराइरहेका छन्। आगलागी बढेपछि धेरै मानिसहरुले हाम फालेका थिए। 

घटनामा सयभन्दा धेरै मानिस घाइते भएका छन्। तीमध्ये ५० भन्दा बढीको अस्पतालमा उपचार भइरहेको छ। 

ताजा समाचार