भूकम्प अपडेट : डोटीमा घर भत्किएर ६ जनाको मृत्यु, एक दर्जनभन्दा बढी घाइते 

कैलाली । पश्चिम नेपालमा पुन: ठूलो भूकम्प गएको छ । पराकम्प पनि गइरहेको छ ।

बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पले घर भत्किँदा डोटीमा ६ जनाको मृत्यु भएको छ । पूर्वीचौकी गाउँपालिका-३ को गैरा गाउँमा उक्त घटना भएको हो । गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायका अनुसार मृतक सबैजनाको शव निकालिएको छ ।

एक दर्जनभन्दा बढी घाइते छन् । केहीको अवस्था गम्भीर रहेको उद्धारमा खटिएका स्थानीय प्रशान्त खड्काले नेपाल प्रेसलाई बताए ।

२ बजेर १२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज (खप्तड बाबाको आश्रम) केन्द्रबिन्दु बनाएर ६.६ रेक्टरको भूकम्प गएको हो । पश्चिम नेपालका अधिकांश ठाउँमा भूकम्पको धक्का महसुस भएको छ ।

यसअघि मंगलबार राति ९ बजेर ७ मिनेटमा दीपायल केन्द्र विन्दु बनाएर ५.७ रेक्टरको भूकम्प गएको थियो ।

गैरागाउँमा करिब १० घर भत्किएको र पटकपटक पराकम्प गएपछि स्थानीय त्रसित छन् । उनीहरू चिसोमा खुला आकाशमुनि रात बिताइरहेका छन् ।

ताजा समाचार