सडक नखुल्दा लाखौंको स्याउ कुहिँदै

जुम्ला — गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्लामा लाखौंको स्याउ थन्किएको छ । झन्डै २ सातादेखि स्याउ थन्किँदा कुहिन लागेको किसानको गुनासो छ । 

९ वटा गाडीमा लोड भइसकेको स्याउ हिमा–१ आचार्यलिही नजिकै अलपत्र परेको छ । सिंजा–६ का किसान मानबहादुर रोकायाले लोड गरिसकेको स्याउका गाडी रोकिएको २ हप्तादेखि बाटोमै रोकिएपछि कुहिने जोखिम बढेको बताए । ‘राजमार्ग कहिले खुल्ने हो थाहा छैन,’ उनले भने, ‘अब त बजारमा नपुग्दै स्याउ गाडीमै कुहिने खतरा भयो ।’ उनले अब त्यो स्याउ बजार पुग्ने हो कि होइन भन्ने चिन्ताले सताएको बताए । 

स्थानीय कमलबहादुर रोकायाको बगैंचामा यो पटक ७ क्विन्टल ५० किलो स्याउ फलेको थियो । उनले व्यापारीसँग सम्झौता गरेर प्याकेजिङसमेत गरिसकेका थिए । व्यापारीले गाडी ल्याउने तयारी भइरहेको बेला बाढीपहिरोले सडक बन्द भएपछि स्याउ थन्किएको उनले गुनासो गरे । ‘केही स्याउ कुहिएको छ, कार्टुनबाटै गन्ध आउन थालिसक्यो,’ उनले भने, ‘केही स्याउ सुकाउनका लागि घरको छतमा राखिएको छ । तर सडक खुल्ने सुरसार नहुँदा घरमै स्याउ कुहिने त्रास बढेको छ ।’ उनले ४५ कार्टुन स्याउ तयारी अवस्थामा राखेको थिए । बाढीपहिरोले बाटो बन्द भएपछि व्यापारी आउन छाडेको अर्का किसान अलबहादुर खत्रीले बताए । ‘स्याउ कुहिएर घर दुर्गन्धित हुन थालेको छ, तत्कालका लागि स्याउहरू छतमा राख्दै पोको गर्न थालेका छौं,’ उनले भने, ‘पालभित्र राखिएका स्याउ त सड्दै गल्दै जान थालेका छ ।’ स्याउ बेचेर तिहार मनाउने सोच बनाए पनि व्यापारी नआउँदा समस्या भएको उनले बताए । 

बगैंचामा फलेको गुणस्तरीय स्याउसमेत लैजान नपाउने देखिएपछि किसान र व्यापारी चिन्तित छन । स्थानीय स्याउ व्यापारी शिवराज बुढाको २ गाडी स्याउ गाउँमै थन्किएको छ । किसानले उनलाई स्याउ बेचिसकेका छन् । तर शिवराजले सडक बन्द भएपछि स्याउ ढुवानी गर्न पाएका छैनन् । ‘स्याउ गाउँमै थन्कियो । कसरी बहिर लैजाने,’ उनले भने, ‘सडक नखुल्दासम्म कुनै विकल्प छैन, कुहिएको स्याउ टुलुटुलु हेरेर बस्नुको विकल्प अब भएन ।’ बाटो नखुल्दासम्म सबै स्याउ कुहिने हो कि भन्ने चिन्ताले सताएको उनले बताए । उनका अनुसार किसानबाट उनले ४० देखि ४५ रुपैयाँ प्रतिकेजी स्याउ खरिद गरेका छन् । उनले सिंजामा मात्रै कम्तीमा ४० लाख मूल्यको स्याउ थन्किएको छ । २ गाडी स्याउ दसैंअघि नै उनले नेपालगन्ज र सुर्खेत पठाएका थिए । तिहारको मौकामा स्याउ बजारमा लैजाने तयारी भए पनि सडक बन्द हुँदा सफल नभएको उनको भनाइ छ । 

अहिले जुम्ली स्याउको माग ठूला बजारमा अत्यधिक छ । ‘जुम्ली स्याउको माग हुने भनेकै तीज, दसैं र तिहारमा हो, यो समयमा स्याउ बजारसम्म लैजान नसके बिक्दैन्,’ उनले भने, ‘एक महिनापछि त विदेशी स्याउले बजार कब्जा गरिसकेको हुन्छ ।’ उनका अनुसार सिंजामा मात्रै अझै ५ देखि ६ वटा ट्रक लोड हुन पुग्ने स्याउ थन्किएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष ४ हजार २ सय हेक्टरमा स्याउ रोपिएको छ । जिल्लाको एक नगरपालिकासहित ७ गाउँपालिकाका ६० वटै वडामा स्याउ फल्छ । जुम्लामा रोयल, रेड, गोल्डेन, जनाथनलगायत जातको स्याउ लगाइएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले बताए ।

पहिरोबाट ८ सय परिवार विस्थापित

मुगु– गत साता गएको भीषण बाढीपहिरोका कारण मुगुमा ८ सय २० परिवार पूर्णरुपमा विस्थापित भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । बाढीपहिरोबाट छायानाथरारा नगरपालिकाका ४ सय १९, सोरुका १ सय ४७ र खत्याड गाउँपालिकाका २ सय ६४ परिवार पूर्णरूपमा विस्थापित भएर खुला चौरमा टेन्ट राखेर बस्न बाध्य छन् ।

उक्त बाढीपहिरोबाट जिल्लाको चारवटै स्थानीय तहमा करिब ४ हजार १ सय ८२ जना विस्थापित भएका छन् । समितिका अनुसार छायानाथरारामा २ हजार ८ सय १५, सोरुमा ७ सय ९७ र खत्याडमा १ हजार ६ सय ७२ विस्थापित भएका छन् । बाढीपहिरोबाट छायानाथराराको सालिम गाउँमा ८ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् । नगरपालिकामा १ सय ८, सोरुमा ६० र खत्याडमा ६८ घर पूर्णरुपमा क्षति भएको छ । छायानाथमा २ सय २६, सोरुमा ५७ र खत्याडमा १ सय १७ घर बाढीपहिरोबाट उच्च जोखिममा छन् । विस्थापित परिवारलाई प्रदेश सरकारले त्रिपाल र कम्मल उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

ताजा समाचार