काठमाडौँ — संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामुक्त गर्न सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
गुरुङकी श्रीमती लक्ष्मी गुरुङका तर्फबाट सोमबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता भएको हो । रिटको सुनुवाइ मंगलबारका लागि तोकिएको छ ।
रिटमा पर्यटनमन्त्री श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, प्रहरी वृत्त दरबारमार्ग, जिल्ला प्रहरी परिसर काठमाडौं, जिल्ला प्रशासन कार्यालय काठमाडौं तथा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई विपक्षी बनाइएको छ ।
शुक्रबार भिसा प्रक्रियाका लागि बायोमेट्रिक दिन ठमेलस्थित छाया सेन्टर पुगेका मन्त्री श्रेष्ठ लाइन मिचेर अघि बढ्न खोजेपछि गरुड सेक्युरिटीजबाट भिसा सेन्टरमा खटिएका सुरक्षा इन्चार्ज गुरुङले मन्त्रीलाई रोकेका थिए । त्यस क्रममा मन्त्री श्रेष्ठ र गुरुङबीच भनाभन पनि भएको थियो ।
त्यसपछि मन्त्री श्रेष्ठकै दबाबमा सुरक्षा गार्ड गुरुङलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको कसुरमा हिरासतमा राखेको थियो । आइतबार प्रहरीले गुरुङलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अन्तर्गत अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिनको म्याद दिइसकेको थियो ।
उनी अहिले प्रहरी बृत्त दरबारमार्गको हिरासतमा छन् । यसैबीच सोमबार गृहमन्त्री बालकृष्ण खाँणले गुरुङलाई रिहा गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई निर्देशन दिइसकेका छन् । सोमबार नै पर्यटनमन्त्रीको सचिवालयले गुरुङले मन्त्री र अंगरक्षकमाथि दुर्व्यवहार गरेको विषयमा गल्ती महसुस गरेको जिकिर गर्दै उनलाई रिहा गर्न आग्रह गरेको विज्ञप्ति जारी गरेको छ ।