संयुक्त राज्य अमेरिकाले नेपाली सेनासँग रणनीतिक सम्बन्ध विस्तार गर्ने एक समझदारी पत्रमा हस्ताक्षरका लागि पुनः ताकेता गरेको छ।
यूएस आर्मी प्यासिफिकका कमान्डर जर्नेल चार्ल्स ए फ्लिनले नेपालमा भएका उच्चस्तरीय भेटवार्तामा अमेरिकी सेनाको स्टेट पार्टनरसिप कार्यक्रम (एसपीपी) मा नेपाली सेनाले हस्ताक्षर गर्नुपर्नेमा जोड दिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भएका भेटमा उनले एसपीपीलाई चाँडै टुंग्याउन आग्रह गरे।
जानकार स्रोतका अनुसार रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री देउवाले यस विषयमा आफू सकारात्मक रहेको बताउँदै त्यसलाई अघि बढाउन प्रमुख दलबीच राजनीतिक सहमति जुटाउन प्रयास गर्ने बताएका छन्। अमेरिकाले दुई महिनाअघि स्टेट पार्टनरसिप कार्यक्रमलाई थप परिमार्जन गरेर नेपाल सरकार र सेनालाई नयाँ मस्यौदा समेत बुझाइसकेको छ।
प्रधानमन्त्री देउवा स्टेट पार्टनरसिप कार्यक्रमबारे सकारात्मक रहेको बुझेका छौँ। तर यसमा थप छलफल आवश्यक छ, किनकि यो सन् २०१९ यता अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अंग हो। हामी स्टेट पार्टनरसिपमा सहभागी हुँदा एकातिर अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सहभागी भएको सन्देश जान्छ भने अर्कोतिर यसले हामीलाई भूराजनीतिक संकटतिर लैजानेछ,’ रक्षा मन्त्रालयका एक अधिकारीले भने।
तर, नेपाली सेनाका प्रधानसेनापति शर्माले स्टेट पार्टनरसिप कार्यक्रमबारे थप छलफल आवश्यक रहेको अमेरिकी सैनिक अधिकारीलाई बताएको स्रोतले जानकारी दियो।