कमिसनको खेलले हुम्लामा खाद्य संकट

चामल ढुवानीमा भएको कमिसनको खेलले हुम्लामा खाद्य संकट निम्तिएको छ । हवाईमार्गबाट हुम्लामा खाद्य ढुवानी गर्न गत साउन १५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गोप्य सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । तर, झन्डै ४ करोड कमिसनको प्रलोभनमा महँगो ढुवानी दर कबोल गर्ने कार्गो सर्भिसलाई ढुवानी स्वीकृत दिन खोज्दा हुम्लामा चामल ढुवानी रोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यका अनुसार हुम्लामा करिब ६० हजार जनता बस्छन् । उनीहरूका लागि खाद्य कम्पनीले चालु आर्थिक वर्षमा २७ हजार ९ सय क्विन्टल ढुवानी गर्ने कार्यक्रम स्वीकृत गरेको छ । तर चार महिना बित्दा पनि ढुवानी नभएपछि चामल उपलब्ध गराइदिन भन्दै प्रजिअ आचार्यले खाद्यलाई दुई पटक पत्र पठाएका थिए । खाद्यले छिट्टै पठाउने आश्वासन दिए पनि चामल ढुवानी हुन नसकेपछि उनी आफैं कात्तिक २३ मा काठमाडौं आएका थिए । ‘हुम्लामा चामल छैन, बेहाल भयो भनेर चिठी पठाएका थियौं । खाद्यले आश्वासन मात्रै दिएपछि काठमाडौं त आएँ तर रित्तै हात फर्किनुपर्‍यो,’ उनले भने ।

किलोमै ४२ रुपैयाँ महँगो कबोल गर्ने कार्गो सर्भिसलाई ढुवानी अनुमति दिन खोज्दा अहिले समस्या उब्जिएको हो । खाद्य कम्पनीले हवाईमार्गबाट हुम्लामा १० हजार क्विन्टल चामल पठाउन सिलबन्दी बोलपत्र आह्वान गरेपछि ४ कम्पनीले आवेदन दिएका थिए । नेपालगन्जबाट ४ हजार र सुर्खेतबाट ६ हजार क्विन्टल ढुवानी गर्न बोलपत्र आह्वान गरिएको थियो । श्रीर्मिका कार्गोले नेपालगन्जदेखि हुम्ला सदरमुकाम सिमकोटसम्म भ्याटबाहेक प्रतिकिलो १ सय १२ रुपैयाँ र सुर्खेतबाट सिमकोटसम्म १ सय ५ रुपैयाँ कबोल गरेको थियो । श्रीर्मिकाको दरमा ठेक्का हुँदा १० हजार क्विन्टल ढुवानी गर्न १० करोड ७८ लाख (भ्याटबाहेक) खर्च हुन्छ । श्रीर्मिकाबाहेक सीता एयरले सुर्खेत–सिमकोटका लागि प्रतिकिलो ६३ रुपैयाँ र नेपालगन्ज–सिमकोटका लागि प्रतिकिलो ७८ रुपैयाँ कबोल गरेको थियो । उक्त दरमा ढुवानी हुँदा ६ करोड ९० लाख (भ्याटबाहेक) खर्च हुन्छ ।

‘यो सरासर भ्रष्टाचार हो, कमिसनकै लागि जनतालाई भोकै राख्नु पाप हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘खाद्य ढुवानीमा विगतमा पनि भ्रष्टाचार भयो, तर अहिले खुलमखुल्ला भयो । तत्काल छानबिन जरुरी छ ।’ वायु सेवा सञ्चालक संघले पनि खाद्यान्न ढुवानीमा भएको उक्त बोलपत्रमा बिचौलियासँग साँठगाँठ भएको आरोप लगाउँदै आएको छ ।

ताजा समाचार