न्यायाधीशहरूलाई खबरदारी : जबराको तत्काल बहिर्गमन बाहेक अन्य सम्झौता नहोस्

काठमाडौँ — नेपाल बार एसोसिएसनमा आबद्ध वकिलहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको तत्काल राजीनामा बाहेक अन्य कुनै पनि विषयमा सम्झौता नगर्ने सर्वोच्च अदालतका न्यायाधीशहरूलाई चेतावनी दिएका छन् । 

जबराले सम्मानजनक बहिर्गमनको नाममा आफू फेरि पदमा टिकिराख्ने योजना बनाएको आशंका गर्दै उनीहरूले छलफलमा जुटेका न्यायाधीशहरूप्रति पनि खबरदारी गरेका हुन् ।

बारको तेस्रो दिनको धर्ना कार्यक्रममा बोल्दै अधिवक्ताहरूले न्यायाधीशहरूलाई सचेत गराएका हुन् । प्रधानन्यायाधीश जबराले प्रस्ताव राखेपछि अहिले न्यायाधीशहरू उनीसँग अनौपचारिक संवादमा छन् । उक्त संवादमा बारलाई नसमेटेको समेत अधिवक्ताहरूले असन्तुष्टि जनाएका छन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबराको सम्मानजनक बहिर्गमन भनेको नै तत्काल राजीनामा भएको बताए । ‘सहज बहिर्गमनका लागि राजीनामा हो । महाभियोग लाग्नु भन्दा अघि नै छोड्नु नै उहाँको सम्मानजनक बहिर्गमन हो,’ उनले भने ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि सम्मानजनक बहिर्गमन जालझेल भएको बताए ।‘सम्मानजनक बहिर्गमन जालझेलको कुरा हो,’ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले भने, ‘बारलाई बाइकट गरेर सम्मानजनक बहिर्गमनको डिल गर्न मिल्दैन ।’

वरिष्ठ अधिवक्ता हरिहर दाहालले सम्मानजनक बहिर्गमन भनेको के हो ? भन्दै प्रश्न गरे । ‘विवादमा परेको मान्छेको पनि सम्मानजनक बहिर्गमन हुन्छ ? सम्मानजनक बहिर्गमन भनेको केही समय बिदामा बस्ने अनि राजीनामा गर्ने रे,’ उनले भने,‘सम्मानजनक बहिर्गमनको अमूर्त छ । पद त्याग गर्नुभयो भने त्यो नै सम्मानजनक बहिर्गमन हो ।’

ताजा समाचार