मन्त्रिपरिषद् विस्तारको छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको छलफल गर्न बिहीबार सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

बिहीबार गठबन्धनको बैठक बस्ने स्रोतले बताएको छ । बिहीबारको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि सम्भवत भोलि नै नत्र शुक्रबार मन्त्रिपरिषद् विस्तार सम्भावना रहेको छ ।

देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए ।

छलफलमा देउबाले मन्त्री हुनेको नाम दिन दाहाललाई आग्रह गरेका थिए । जवाफमा दाहालले आज बस्ने पार्टीको स्थायी कमिटी बैठकपछि मन्त्री हुनेको नाम दिने बताएको देउवानिकट स्रोतले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिइसकेको छ ।

गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्रालय राख्ने सहमति भइसकेको छ । तर, कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन ।

ताजा समाचार