काठमाडौं । दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपालीहरु कात्तिक १५ भित्रै जान पाउने भएका छन् ।
झन्डै २० महिनादेखि विदेश जान नपाएका नेपाली कामदारहरु त्यसतर्फ जान पाउने भएका हुन् । वैदेशिक रोजगार विभाग र ईपीएस नेपाल सेन्टरबीच अक्टोबर अर्थात कात्तिक १५ भित्र श्रमिक पठाउन थाल्नेगरी छलफल भएको हो।
‘कोरियाका अधिकारीहरूले अक्टोबरभित्रै श्रमिक पठाउने प्रक्रिया सुरु गर्छौं भन्नुभएको छ। यो अनौपचारिक कुरा हो। लिखित जानकारी दिइसक्नुभएको छैन। उहाँहरूका सबै सर्त पूरा भइसकेकाले अब श्रमिक नलानुपर्ने कारण छैन’, छलफलमा सहभागी एक अधिकारीले भने।
कोरियाले श्रमिक लान राखेका सबै सर्त सरकारले पूरा गरिसकेको छ। दक्षिण कोरिया पुगेपछि श्रमिकले १४ दिनसम्म आफ्नै खर्चमा क्वारेन्टिन बस्नुपर्नेछ।
सीधै कोरिया उडानमार्फत श्रमिक पठाउन सरकारले कार्यविधि नै संशोधन गरेको थियो। यसअघि ट्रान्जिट उडानमार्फत पनि जान सकिने व्यवस्था थियो। त्यसरी जाँदा सस्तो पथ्र्यो। कोरियाले राखेका सर्तअनुसार बढी खर्च गरेर जान पनि श्रमिक तयार भएका छन्।
भाषा परीक्षा पास गरेका र सबै प्रक्रिया पूरा भए पनि जान नपाउने डरले श्रमिकले संगठित रूपमै सरकारको ध्यानाकर्षण गराइरहेका छन्। करिब ७ हजार नियमित र ३ हजार पुनः जाने तयारीमा श्रमिक रोकिएका छन्।
यहीबीच कतिपयको म्याद सकिएको छ। उनीहरू भने अहिले जान पाउने छैनन्। पुनः भाषा परीक्षा दिएर प्रक्रिया सुरु गर्नुपर्नेछ।
कोरोनाको जोखिम बढेपछि सरकारले २०७६ फागुन अन्तिममा सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेसँगै रोजगारीका लागि दक्षिण कोरिया जानेहरू पनि रोकिएका हुन्।