काठमाडौं । नेपालको चर्चित गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेता किरण गजमेर बनेका छन्।
शनिबार राति भएको फाइनलमा अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन् । उनीसँगै यो उपाधिका दाबेदार तारा श्रीष मगर, ज्वाला राई र आर्यन तामाङ रहेका थिए। यो उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् ।
यो कार्यक्रममा उनी गायक प्रमोद खरेलको टिममा थिए। खरेलको टिमबाट उपाधि जित्ने किरण दोस्रो गायक हुन्। यसअघि भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि प्रमोदकै टिमका सिडी विजय अधिकारीले जितेका थिए। दोस्रो सिजनको उपाधि राम लिम्बुले जितेका थिए।
किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए। यो रियालिटी शो हिमालय टेलिभिजनमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो।
यस्तै किरणले आफुले प्राप्त गरेको २५ लाख रकमले शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बुलेन्स सहयोग गर्ने भएका छन्।
उनले एक हजार रुपैयाँ मात्र आफूले लैजाने र बाँकी २४ लाख ९९ हजार नेपालकै पूर्वमा एउटा र पश्चिममा एउटा गरि दुईवटा एम्बुलेम्स किनेर दिने घोषणा गरेका हुन् ।
विगतमा आफूले शरणार्थी जीवन बिताउँदा उपचारकै अभावमा हजुरआमा गुमाएको स्मरण गर्दै गजमेरले एम्बुलेन्स सहयोग गर्ने बताएका हुन्।
उनले भने, ‘आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमालाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खोप लगाउनबाट वञ्चित भएकालाई सहयोग गर्छु।
यस्तै किरणले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीलाई धन्यवाद दिए । किरणले भने, ‘म यो मायाको लागि सधैं नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’
एक हप्तासम्म दर्शकले गरेको भोटका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधिको छिनोफानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जितेका हुन्।