काठमाडौं । सर्लाहीका उखु उत्पादक किसानले उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित गर्ने चेतावनी दिएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उखु किसान संघर्ष समिति, सर्लाही, राष्ट्रिय कृषि श्रमिक संघ, उखु किसान संघर्ष समिति, सर्लाही र किसानहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै विगत तीन÷चार वर्षअघिदेखि कै भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
सरकारबाट आश्वासन पाए पनि भुक्तानी नसकेका कारण यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर आन्दोलनको तयारी गर्नुपरेको उनीहरुले बताएका छन् । किसानका अनुसार इन्दिरा सुगर मिल, लुम्बिनी चिनी कारखाना, अन्नपूर्ण चिनी मिल, महालक्ष्मीबाट भुक्तानी हुन बाँकी छ ।
त्यस्तै श्रीराम सुगर मिलबाट पाउनुपर्ने तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले जानकारी दिनुभयो ।
मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको किसानको गुनासो छ ।
उहाले किसानहरुलाई निमुखा र कम्जोर सम्झेर फेरि पनि रकम नदिने षडयन्त्र उद्योगी र सरकारबाट भइरहेको आरोप लगाउनुभयो ।
भदौ ५ गतेसम्म पनि किसानहरुको सम्पूर्ण भुक्तानी नभए सशक्त आन्दोलन गर्ने उहाँको भनाइ छ । उखु किसान विसं २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । विसं २०७७ पुसमा किसानले दोस्रोपटक काठमाडौँमा आन्दोलन गरेका थिए ।
आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेको थियो । सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगन गरेका थिए ।
१६ दिनको आन्दोलनपछि सरकार र उखु किसान सङ्घर्ष समितिबीच चार बुँदे सहमति भएको थियो ।