एमालेमा बाटो बिराएका सबै नेतालाई आममाफी दिन्छुः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा बाटो बिराउन खोजेका सबै नेताहरुलाई आममाफी दिने घोषणा गर्नुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले सबै नेताहरुलाई आममाफी दिने घोषणा गर्दै अब विवाद छोडेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

ओलीले अब विवाद छाडेर पार्टी एकताको कुरा गर्न पनि आह्वान गर्दै भन्नुभयो ‘हामी को कहाँ छौँ, त्यो कुरा छाडिदिऊँ देश र जनताको कुरा गरौँ, अब विवाद छाडौँ, पार्टी एकताको कुरा गरौँ ।’

झण्डै एक घण्टा लामो सम्बोधन गर्नुभएका ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको भन्दै उहाँले भननुभयो, ‘यो कर्कलोको पातको पानी होइन, कसैले हल्लाउँदैमा भुँइमा खस्छ ।’

उहाँले एमालेको वर्तमान अवस्था पुष्पलालको दिग्दर्शन र मदन भण्डारीको विचारबाट बनेको भन्द्यै छुटेर जानेहरु पतन हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको नेकपा एमालेले अनेकता सिलसिलालाई अन्त्य गरेका थियौं, एकीकरणको सिलसिला टुंग्याएका थियौं। तर, अहिले अलिकति छुटेर गएका छन्। ती पतनको बाटोमा गएका छन्।’

तर, पुष्पलाल र मदनका विरोधीहरुले उनीहरुकै नाममा विभिन्न संस्था खोलेर बदनाम गर्न लागिपरेको उहाँले बताउनुभयो ।

उहाँले अघि भन्नुभयो, ‘आज पुष्पलाल दिवंगत भएपछि विरोधीहरुले उनका नाममा अनेक शाखाप्रशाखा खोलेका छन्। सिद्धार्थ गौतमका विरोधीहरु उनकै नाम लिएर हिँडेका थिए। मार्क्सका विरोधीहरु उनका विचार लिएर बदनाम गराउन हिँडेका हुन्।’

मदन भण्डारीका विरोधीले उनको नाममा अनेक संस्था खोलेर उहाँका विचारलाई वितृष्णाको विषय बनाइरहेको ओलीको भनाइ थियो। यस्तोमा सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

ताजा समाचार