काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास हुनसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलो पटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले एमाले फुटाउन विभिन्न जालबाझी गर्ने भन्दै अध्यादेश ल्याउन सक्ने आँकलन रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’
ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको भन्दै उहाँले रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखि नै षड्यन्त्रको आभास आफूले पाएको दाबी गर्नुभयो ।
अदालतले कीर्ते कागजलाई मान्यता दिएको दाबी गर्र्दै उहाँले भन्नुभयो, ‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो, यो फैसलामा हाम्रो सहमति छैन । तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं ।’
एमाले संसदीय दलको शुक्रबार संघीय संसद भवनको ल्होत्से भवमा भएको बैठकमा ओलीले सर्वोच्च अदालतले दलीय संरचना समाप्त गर्ने आधार तय गरेको बताउनुभयो ।
‘ह्विप नलाग्ने र ह्विप उल्लंघन गरे कार्बाही गर्न नपाइने। मागै नभएको महाअभिओगमा पनि ह्विप नलगाउने फैसला किन आयो?’ ओलीले बेठकमा भन्नुभयो ।
तर आजको बैठकमा बैठकमा माधव नेपाल पक्षका सांसदहरु भने सहभागी थिएनन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसदीय दलका सचेतक विशाल भट्टराईले माधव नेपाल पक्षलाई अर्को बैठकमा आउने वातावरण मिलाइने दाबी गर्नुभएको थियो ।