संसद विघटन: सभामुखतर्फको बहस सकियो, भोलि फैसला आउने सम्भावना

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।

आइतबार दुई घण्टा समय अवधिमा सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ताहरु मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले बहस गरेका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सभामुखलाई पनि विपक्षी बनाइएकाले उहाँको बचाउमा कानून व्यवसायीले बहस गरे ।

सभामुख सापकोटा पनि प्रतिनिधि सभा पुनस्र्थापनाको पक्षमा रहनुभएकाले उहाँका कानून व्यवसायीले रिट निवेदनमा माग गरेअनुसार नै प्रतिनिधि सभा पुनस्र्थापनाको माग गरेका छन् ।

सभामुख पक्षका कानुन व्यवसायीको बहस सकिएपछि निवेदक पक्षबाट जवाफी बहस शुरु गरिएको छ ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४७ जना सांसदको तर्फबाट आइतबार १ घण्टा जवाफ दिनुभएको छ ।

जवाफी बहसका लागि २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ ।

सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफ दिनेछन् ।

जवाफी बहस सकिएपछि एमकिस क्यूरीले राय दिनेछ । त्यसपछि भोलि नै फैसला आउने सम्भावना रहेको छ ।

ताजा समाचार