काठमाडौं । नेपालमा आइतबार १ हजार ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८७६ जनाको पीसीआर परीक्षणमा १ हजार ४२ र ३ हजार २५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा ३१ जना संक्रमित भेटिएका छन् ।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ७३९ पुगेको छ । सोहि अवधिमा संक्रमणमुक्त हुनेको संख्या २ हजार ५५२ छ भने २७ जनाको मृत्यु भएको छ । यस सँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ ।
यस्तै संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ । देशभर हाल २६ हजार १ सय ७९ सक्रिय संक्रमित रहेका छन् भने ९ वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको छ ।