उदय सुबेदी
टोकियो । जापानको मियाजाकी प्रिफेक्चरमा आयोजित एक उत्सवमा ६८२ जनाले पाँच सेकेन्डभित्र एकैपटक गिलासमा पेय पदार्थ खन्याएर नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्।
उत्सवमा सहभागी ६८२ जनाले निर्धारित समयमा समन्वयपूर्वक आ–आफ्नो गिलासमा पेय पदार्थ खन्याएका थिए। ठूलो संख्यामा सहभागीहरूले एउटै समयमा गरेको यो सामूहिक गतिविधिलाई गिनिज वर्ल्ड रेकर्ड्सले मान्यता दिएपछि आयोजक तथा सहभागीहरूले उत्सव मनाएका थिए।
यसअघि यही विधामा सन् २०२५ मा ५४५ जनाले कायम गरेको कीर्तिमान रहेको थियो। मियाजाकीमा भएको नयाँ प्रयासमा थप १३७ जना सहभागी हुँदै पुरानो कीर्तिमान तोडिएको हो।
स्थानीय उत्सवलाई थप आकर्षक बनाउने उद्देश्यले आयोजना गरिएको यो सामूहिक प्रयासले जापानमा स्थानीय संस्कृति, समुदायको सहभागिता र मनोरञ्जनलाई जोड्ने कार्यक्रमका रूपमा समेत चर्चा पाएको छ।
आयोजकका अनुसार ठूलो संख्यामा मानिसलाई एउटै समयमा एउटै गतिविधिमा सहभागी गराउनु चुनौतीपूर्ण भए पनि सहभागीहरूको उत्साह र समन्वयका कारण कीर्तिमान कायम गर्न सफल भएको हो।