टोकियो
नेपाल र जापानबीचको दौत्य सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव उपलक्ष्यमा वक्तृत्वकला प्रतियोगिता आयोजना हुने भएको छ ।
कोमागाने शहर तथा पोखरा महानगरबीचको अन्तर्राष्ट्रिय सहयोग तथा मैत्रीपूर्ण शहर सम्झौताको २५ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा आयोजना गरिएको आयोजकले जानकारी दिएका छन ।
कोमागाने र पोखराबीचको मैत्रीपूर्ण सम्बन्धलाई वर्षौंदेखि सहयोग गर्दै आएको नेपाल एक्सचेन्ज सिटिजन्स एसोसिएसन (नेपाल विनिमय नागरिक संघ) र गत वर्ष स्थापित नेपाल लाइब्रेरी (साधारण संस्था) ले जापान ओभरसिज कोअपरेशन भोलेन्टियर (JICA Volunteer ) तालिम केन्द्र भएको र पोखरा महानगरसँग अन्तर्राष्ट्रिय सहयोग तथा मैत्रीपूर्ण शहर सम्झौतामार्फत नागरिक स्तरमा अन्तर्राष्ट्रिय योगदानलाई प्रवर्द्धन गर्ने कोमागाने शहरको एक अद्वितीय पहलको रूपमा, दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्यले जापानस्थित नेपाल दूतावासको सहयोगमा संयुक्त रुपमा प्रतियोगिताको आयोजना गर्न लागेका हो ।
प्रतियोगितामा, कोमागाने शहर लगायत नागानो प्रान्तमा बसोबास गर्ने नेपालीहरूले आफ्ना दैनिक विचार र भावनाहरू जापानी भाषामा प्रस्तुत गर्नेछन् भने यस क्षेत्रका जापानी नागरिकहरूले पनि नेपालप्रतिको आफ्ना भावना वा अनुभवहरू नेपाली भाषामा प्रस्तुत गर्नेछन्। जापानीहरूद्वारा नेपाली भाषामा वक्तृत्वकला प्रस्तुत गर्नु एक अद्वितीय र अभूतपूर्व प्रयास हो, जुन यस प्रतियोगिताको एक प्रमुख विशेषता हो।
आयोजकका अनुसार प्रतियोगितामा भाग लिने वक्ता एवं दर्शक लगायत सबै सहभागीहरूले विविध संस्कृति र मूल्यमान्यतालाई पारस्परिक रूपमा बुझ्ने र एकअर्कालाई बुझाउन सहयोग पुग्नो विश्वास लिदै यस क्षेत्रको बहुसांस्कृतिक सहअस्तित्व समाजको प्राप्तिमा ठूलो योगदान पुर्याउनेछ। साथै, यस पहललाई व्यापक रूपमा प्रचार गर्दा धेरै नेपालीहरूको कोमागाने शहरप्रति चासो बढ्नेछ र अन्ततः दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्धको विकासमा सहयोग पुग्ने आशा ब्यक्त गरेको छ ।
