कुमामोतो नेपाली समाजको आयोजनमा सम्पन्न,तीज गीतनृत्य प्रतियोगिताको उपाधि सिर्जना नगरकोटीलाई(फोटोहरु सहित)

  • रामचन्द्र राई

कुमामोतो नेपाली समाजद्वारा आयोजित अनलाइन तीज गीत/नृत्य प्रतियोगिताको उपाधी सिर्जना नगरकोटीले जित्न सफल भएका छन ।

हरितालिका तिज २०८२ को शुभकामना आदान–प्रदान तथा दरखाने कार्यक्रम सहित सम्पन्न प्रतियोगिताको दोश्रोस्थानमा संस्कृति मगर र अन्सुमा परियारको जोडीले जितेभने आशा बलाल तेस्रो स्थानमा आउन सफल भए । विजेताहरुलाई क्रमशः २० हजार, १५ हजार, र १० हजार जापानी येन नगद पुरस्कार, होक्काइडो “घी”, र प्रमाणपत्रसहित पुरस्सकारहरु प्रदान गरिएको थियो ।

समाजकी महिला उपाध्यक्ष रूपा नेपाली सांस्कृतिक संयोजक रहने गरी, निर्णायक मण्डलमा सल्लाहकार सुरेन्द्र डंगोल र नायिका रागिनी खड्गी रहेका थिए ।निर्णायक सुरेन्द्र डंगोलले दिएको जानकारी अनुसार प्रतियोगितामा दर्शकको भोट र निर्णायकको अङ्क जोडेर नतिजा प्रकाशन गरिएको थियो ।
कुमामोतोस्थित स्पाइस आरोमा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि प्राडा. हरिदेवकोटाले विजेता तथा सहभागीहरूलाई बधाई दिँदै भने: “मञ्च ठूलो होस् वा सानो, त्यसको सम्मान गर्नैपर्छ । तपाईं आज सामान्य कलाकार होला, तर कुनै दिन देश चिनाउने कलाकार बन्ने सम्भावना हरेकमा हुन्छ । धैर्यता र अनुशासनसाथ कर्म गर्न कहिल्यै नछोड्नुहोस्।”त्यस्तै, अर्का अतिथि कवि तथा कलाकार मञ्जुल मितेरीले भावनात्मक शैलीमा सन्देश दिँदै सहभागीहरूलाई प्रोत्साहित गरे ।

यसपटकको प्रतियोगिताको प्रथम पुरस्कार एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने, दोस्रो पुरस्कार स्पाइस आरोमा रेस्टुरेन्ट, र तेस्रो पुरस्कार आसो फुटबल क्लबले प्रायोजन गरेका थिए । होक्काइडो “घी” र Yehey Remit सह–प्रायोजकका रूपमा थिए। येहे रेमिट द्वारा सञ्चालित लक्की ड्रमार्फत विभिन्न सहभागीहरूले २० हजार येन बराबरको नगद पुरस्कार र होक्काइडो “घी” जितेका थिए ।
कुमामोतो नेपाली समाजका अध्यक्ष रोशन भट्टराईले जापानमा नेपाली समुदायको संख्यामा तीव्र वृद्धि भइरहेकाले समस्याहरू समाधान गर्न समाज र संगठनहरूको भूमिका अत्यावश्यक रहेको बताए ।


एनआरएनए क्युसुका सह–संयोजक पवन अधिकारीले सांस्कृतिक तथा सामाजिक पर्वहरूलाई मिलेर मनाएझैं, साझा समस्या समाधानमा पनि समाज र क्लबले महत्वपूर्ण भूमिका खेलेको बताए । त्यस्तै, एनआरएनए क्युसु सदस्य बद्री सापकोटा र सुजन कटुवालले पनि शुभकामना मन्तव्य राखेका थिए ।
क्लबका म्यानेजर बिपिन घलेले बिदेशमा रहेपनि खेल क्षेत्रमार्फत देश र समाजलाई चिनाउन मद्दत मिलेको बताए ।क्लब संयोजक मदन गुरुङले चाडपर्व र रीतिरिवाजलाई जहाँ गएपनि सम्मानपूर्वक सम्झनु आवश्यक रहेको भन्दै, भावनात्मक एकताको सन्देश दिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रम समाजका अध्यक्ष रोशन भट्टराईको अध्यक्षतामा सम्पन्न् भएको थियो ।

ताजा समाचार