काठमाडौं । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले दोस्रो कार्यकालका लागि आफू प्रतिस्पर्धामा नजाने बताएका छन् । प्रधानमन्त्री सुगाले यो महिना हुने पार्टी नेताको चुनावमा आफूले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् ।
सुगा एक वर्ष पहिले जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शिन्जो आबेको राजीनामा पछि उनी जापानको सत्तामा आएका हुन् । सुगाको ‘अप्रूभल रेट’ सबैभन्दा तल गएका बेला उनले आफू अर्को कार्यकालका लागि प्रधानमन्त्री नबन्ने घोषणा गरेका हुन् ।
जापानमा अहिले आतपकालीन अवस्था लागु छ र कोरोना भाइरसको संक्रमण महामारी यताकै गम्भीर अवस्थामा छ । जापानमा संक्रमितको संख्या १५ लाख भन्दा धेरै पुगेको छ तर खोपदर भने कम देखिएको छ ।
कोरोना भाइरसको संक्रमण बढी रहेका बेला ओलम्पिक गेम्स आयोजना गर्ने निर्णयले उनलाई जापानमा निकै अलोकप्रिय बनाएको थियो ।
सुगाको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) का महासचिवले भनेका छन्, ‘उहाँले आज भएको कार्यकारी समितिको बैठकमा कोरोना भाइरसविरुद्धका कार्यमा केन्द्रित हुन चाहेको र पार्टी नेताको चुनावमा प्रतिस्पर्धा नगर्ने बताउनु भएको छ ।’
सुगाको घोषणाबाट आफूहरु पनि अचम्ममा परेको महासचिवले बताएका छन् । सुगाले प्रधानमन्त्री पद यहि कार्यकालमा छोड्ने संकेत गरेसँगै जापानमा शेयर बजार उच्चदरमा बढेको छ ।
एलडिपीले सेप्टेम्बर २९ मा आफ्नो अध्यक्ष चयन गर्दै छ । सदनमा बहुमत रहेकाले एलडिपीको नेता नै प्रधानमन्त्री बन्ने सम्भावना छ ।