एनआरएनए जापानको निर्वाचन सार्ने निर्णय हाम्रो होईनः निर्वाचन समिति

ओसाका । एनआरएनए जापानको निर्वाचन सार्ने निर्णयप्रति समिति जानकार नरहेको निर्वाचन समितिले प्रष्ट पारेको छ ।
सदस्यता विवादपछि कार्यसमितिले विनापरामर्श पूर्व निर्धारित २७ तारिख गरिने भनिएको निर्वाचन ३० तारिख सार्ने भनि गरिएको एकतर्फी निर्णयमा निर्वाचन समितिको कुनै परामर्श नरहेको प्रष्ट पारेको छ ।


निर्वाचन समितिले आज एक विज्ञप्ति जाी गर्दै सबै उम्मेदवारहरुको सर्वसम्मत निर्णय नहुँदासम्म निर्वाचन मिति सार्न नसकिने बताएको छ ।


हेरौं निर्वाचन समितिले जारी गरेको विज्ञप्ति

एन.आर.एन.ए. जापानका सदस्य साथीहरू,

यहाँहरूलाई पनि जानकारी भैसकेको होला कि हिँजो मिति २०२१ जुलाई २४ तारीखका दिनमा कार्य समितिको निर्णय भन्दै मतदान मिति जुलाई ३० मा सारिएको कुराको सूचना आज जुलाई २५ तारीख विहान निर्वाचन समितिलाई दिइएको छ।

हामीले पनि निर्वाचन समितिमा तत्काल सल्लाह गरि निर्वाचन समितिको जवाफ कार्य समिति लगायतलाई पठाएका छौँ, र ३ वटा विकल्पको बारेमा जानकारी गराएका छौँ। मतदान मितिलाई अलिकति पछाडि सार्नुपर्ने बारेमा कुरा आएको लगभग १ हप्ता भैसक्यो, र यसको कारण यहाँहरूलाई पनि जानकारी भएझैं मतदाता नामावलीमा रहेको ईमेल सम्बन्धि त्रुटि हो। यसबारेमा कार्य समिति, अनुगमन समिति र निर्वाचन समितिका बीचमा पनि अनलाइन बैठकहरू नभएका होइनन्। निर्वाचन समितिको तर्फबाट हामीले सबैको सहमतिमा मतदान मिति सार्न सकिने कुरा पनि वेलावेलामा अवगत गराएकै हो र हाम्रो बटमलाइन अहिलेका अन्तिम उम्मेदवारहरूको पूर्ण सहमति हो भन्ने कुरा अनुगमन समितिका संयोजकलाई जानकारी गराएका थियौँ। तर, हिँजो कार्य समितिले गरेको निर्णयमा यो बारेमा कुनै उल्लेख भएको देखिदैन। निर्वाचन समितिको जवाफमा हामीले निम्न ३ विकल्पहरूको बारेमा जानकारी गराएका छौँ। (पुनश्च: क्रमसंख्यामा हेरफेर गरिएको छ।)

१. कार्य समितिको निर्णयानुसार जुलाई ३० तारीखमा मतदान गराउने, तर यसका लागि सम्पूर्ण उम्मेदवारहरूको १००% सहमति चाहिने।

२. माथि १ मा भएअनुसार नभएमा, निर्वाचन समितिको साविककै कार्यक्रम अनुसार जुलाई २७ मा मतदान गराउने।

३. जुलाई २७ मा मतदान गराउन नसकिने स्थितिमा निर्वाचन समितिले राजीनामा गरि अनुगम समिति अथवा अन्तर्राष्ट्रिय समन्वय समितिलाई सम्पूर्ण निर्वाचन प्रकृया जिम्मा लगाउने। त्यसैले, हामीले मतदान मिति ३० जुलाईमा सार्नेबारेमा उम्मेदवारहरूको अन्तिम नामावलीमा नाम रहेका सम्पूर्ण उम्मेदवारहरूको राय बुझ्न चाहेका छौँ र यसका लागि एउटा गूगलफारामको प्रयोग गरि सोधपुछ गर्ने निधो गरेका छौँ। एक जनामात्र उम्मेदवारले पनि ३० जुलाईमा सार्ने कुरामा बिरोध जनाएमा, निर्वाचन समितिले २७ जुलाईमानै मतदान गराउने कुरा पनि यहाँहरूलाई यसैमार्फत जानकारी गराउँदछौँ।

आज ओसाकामा सम्पन्न भएको राष्ट्रिय महाधिवेशनका विचमा शृजित भ्रमलाई र केही समाचार माध्यमहरूले कार्य समितिको निर्णयलाई नै अन्तिम निर्णयको रुपमा प्रेषित समाचारलाई निर्वाचन समितिको आधिकारिक निर्णय नमानिदिनुहुन पनि यसैसाथ अनुरोध गर्दछौँ। निर्वाचन समितिको पूर्वनिर्धारित निर्वाचन कार्यक्रम अनुसार, २७ जुलाई मा मतदान र आज राति १२:०० बजेदेखि २७ जुलाई बिहान १० बजेसम्म शून्य समय रहेकाले प्रचार प्रसारका कुनै पनि कार्यहरू बन्द गर्नुहुन पनि अनुरोध गरिन्छ। धन्यवाद।

निर्वाचन समिति २०२१

ताजा समाचार