टोकियो । भ्याक्सिनको पर्खाईमा रहेका नेपालीहरुलाई जापान सरकारले करिब १६ लाख डोज अस्ट्राजेनेका कोरोना भ्याक्सिन सहयोग प्रदान गर्ने भएको छ ।
जापानका परराष्ट्र मन्त्री माटेगी तोसिमिनोले नेपाल सरकारलाई कोरोना बिरुद्द जापानमा निर्माण गरिएको अस्ट्राजेनेका भ्याक्सिन प्रदान गरिने घोषण गर्नु भएको हो ।
जापानमा उत्पादन भएको अस्ट्राजेनेका भ्याक्सिन जापानले मित्र राष्ट्रहरुलाई वितरण गर्ने घोषणा गरेसँगै जापानमा रहेको नेपाली राजदूतावासले जापान सरकारसँगको सार्थक कूटनैतिक प्रयास पछि दोश्रो लहरको महामारीबाट बच्न जापानबाट सहायता स्वरुप यसअघि स्वास्थ्य सामग्री पठाएको थियो भने अहिले १६ लाख भ्याक्सिन नेपाल पठाउन सफल भएको हो ।
जापानमा उत्पादन भएको अस्ट्राजेनेका भ्याक्सिन यथासक्य छिटो नेपाल पठाउन लागिएको जानकारी जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले दिनुभयो । महामहिम राजदूतले जापान सरकारको यो सहयोगबाट लाखौं नेपाली दिदीबहिनी एवं दाजुभाइहरूलाई कोरोना संक्रमणको खतराबाट सुरक्षित रहन मद्दत पुग्ने बताउनु भएको छ । उहाँले यस कठिन परिस्थितिमा जापान सरकारले उपलब्ध गराएको सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नभयो ।
नेपालका लागि जापानिज राजदूत किकुता युताकाले छिटो भन्दा छिटो नेपाललाई भ्याक्सिन उपलब्ध गराउने काम भईरहेको जानकारी दिनुभएको छ।
जापान नेपालको असल मित्र देशमात्र नभई एेतिहासिक सम्बन्ध पनि भएको मित्र राष्ट्र हो । जापानले नेपाललाई आर्थिक, भौतिक एवं बिभिन्न महामारीमा पनि भरपर्दो सहयोग गर्दै आईरहेको छ । अहिलेको कोरोना बिरुद्दको अभियानमा पनि जापानले आवश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरिसकेको छ ।