जापानमा आउने पहिलो नेपाली को थिए ? कसरी भयो सुरुवात ( तस्विर सहित)

जुन १७, १९०२ अर्थात आज भन्दा ठिक ११६ बर्ष पहिला नेपाली बिद्यार्थी र उनका सहयोगीहरूको टोली पहिलो पटक जापान पुगेको थियो । जनवरी २६, १८९९ मा जापानी भिक्षु इकाइ कावागुची सुगौली हुदै बिरगंज प्रवेश गरेको करिव साढे तीन वर्ष पछि नेपाली बिद्यार्थी जापान पुगेका थिए ।

नेपाली जनताले पनि शिक्षा पाउनु पर्छ भनेर देश भर पाठशाला शिक्षाको शुरूवात गरेर संस्कृत पाठशाला खोलिदिने राणा प्रधानमन्त्री देवशम्शेरले नै जापानमा नेपाली बिद्यार्थी पढ्न पठाउने सोच बनाएका थिए । जापानको इतिहासमा मेइजी पुनर्स्थापनाको बारेमा देवशम्शेरले गहिरो अध्ययन गरेका थिए ।

सन् १८६८ मा तानाशाह शोगुनको शासन समाप्त गराइ सम्राट मेइजीको शासनकालको शुरूवात भएको थियो । सम्राट मेइजीको शासन पछि जापानको बिकासको शुभारम्भ भएको थियो । यसैबाट प्रभावित भएका देवशम्शेरले नेपालबाट केही बिद्यार्थीलाइ जापानमा अध्ययन गर्न पठाउने बिचार गरे । तर उनको शासनकाल निकै छोटो रह्यो । उनका भाइ चन्द्रशम्शेरले उनलाई केवल १४४ दिनमा नै सत्ताच्युत गराए । सत्ता परिवर्तन भए पनि देवशम्शेरको सपनालाई चन्द्रशम्शेरले साथ दिए । यसैले मार्च १९०२ मा मुन्शीखानाले तैयार गरेको पत्रमा लेखिएको थियो । “श्री ३ चन्द्रशम्शेर महाराजाका निगाहबाट तिमीहरूलाई देशलाइ आवश्यक बिषयमा अध्ययन गर्नको लागी जापान जाने अनुमति प्रदान गरिएको छ ।

अप्रिल २१ मा बम्बइ पुगि थोमस कुक एण्ड सन्स लिमिटेड, जहाज कम्पनीसंग सम्पर्क राख्ने, यसले बाकी इन्तजाम मिलाउने छ । २९ अप्रिलको दिन जहाज जापानको लागी रवाना हुनेछ । १००० भारू जम्मा गरिसकिएको छ, नेपालबाट जापानसम्मको लागी तिमी ८ जना र सहयोगी १७ जनाको सम्पूर्ण खर्च ६७०० जम्मा गरिनेछ । साथै जापान बसोबासको लागी लाग्ने अन्य खर्च बापतको १२८४० भारू पनि बिरगञ्ज मुलुकी खानाबाट बुझि थोमस कुक एण्ड कम्पनीबाट नै सतही गरि लिनु । यो रकम जापान पुगि बैंकमा जम्मा गरि महिनाको खर्च लिने गर्नु ।”यसरी मुन्शीखानाको निर्देशन बमोजिम नेपालबाट आठ बिद्यार्थीहरू तथा उनका १७ सहयोगी सहितको टोलीलाइ सम्पूर्ण हेरविचार गर्ने जिम्मा स्वामी गिरी भन्ने एक ब्यक्तिलाइ दिइएको थियो । बिद्यार्थीहरूको बारेमा ध्यान दिन ब्रिटिस लेगेसी तथा ब्रिटिस मन्त्री अर्थात जापानमा रहेको बेलायती राजदुतावास तथा राजदुतलाइ पनि पत्र लेखिएको थियो ।

बिद्यार्थीलाई जापानमा रहदा कसैसंग पनि झैझगडा नगर्न समेत अनुरोध गरिएको थियो । यात्रा तालिका अनुसार २९ अप्रिल १९०२ मा बम्बईबाट यात्रा आरम्भ गरेको पानी जहाज कोलम्बो, रङ्गुन, सिङ्गापुर, हङकङ, कोबे हुदै ४६ औं दिनमा योकोहामाको समुन्द्र तट पुगेको थियो । यसरी १७ जुन १९०२ मा जापानमा नेपालीले पहिलो पटक पाइला टेके । केही दिन योकोहामा र टोक्योको भ्रमण पछि उनिहरू १३, रेनान्जाका चो, अकासाकामा डेरा लिए । यसपछि चन्द्रशम्शेरको पत्र बेलायती राजदुतलाई बुझाउन गए । बेलायती राजदुतले जापानी बिदेश मन्त्री जुतारो कामुरालाइ पत्र लेखेर सहयोग गर्न आग्रह गरे । पत्रमा नेपाल सरकारको बिद्यार्थी भएको हुदा बिशेष महत्व दिन अनुरोध गरिएको थियो । यसरी जापानी शिक्षा मन्त्रालयको पहलमा आठ बिद्यार्थीहरू तीन वटा इन्स्टिच्युटमा भर्ना गराइए ।

१. Tokyo Teikoku Daigaku (Present Tokyo Univ. Dept of Tech) २. Tokyo Koto Kogyo gakko (Present Tokyo Inst of Tech) ३. Noka Daigaku (Present Tokyo Univ, Dept of Agriculture.)

यसपछि आठ बिद्यार्थीहरूको लागी चारवटा डेरा खोजियो, उनका सहयोगीहरू पनि बाडिए । बिद्यार्थीको नाम र ठेगाना यस्तो थियो । १. जङ्ग नरसिंह राणा र देव नरसिंह राणा, 137, Higashikata machi, Hongo-ku. भाडा मासिक ३० येन.२. भक्तबहादुर बस्नेत र बालनरसिंह रायमाझी, 22, Masago-cho, Hongo-ku. भाडा मासिक ३० येन३. बिचारमान सिंह, रूद्रलाल सिंह तथा हेमबहादुर राजभण्डारी, 19 Kitatomizaka-cho, Kurumai, Asakusa. भाडा मासिक २० येन४. दीपनरसिंह राणा, 272. Naka Shibuya mura. Toyotama Kori (gun), Village house, भाडा मासिक १० येन.१९०४ मा कोरिया माथी रूसको हस्तक्षेप बिरूद्ध जापानले रूसलाई आक्रमणको तैयारी गरेपछि जापान सरकारले नेपाली बिद्यार्थीलाइ नेपाल फर्कन भनियो तर पढाइ पुरा नभएको हुदा पढाइ पुरा गरेर फर्कन पाउ भनि अनुरोध गरियो, जुन स्विकार भएपछि सम्पूर्ण बिद्यार्थी १९०५ को सेप्टेम्बरको अन्तमा नेपाल फर्किए । नेपाल फर्के पछि जङ्गनरसिंह राणा, भक्तबहादुर बस्नेत, हेमबहादुर राजभन्डारी र बालनरसिंह रायमाझीले बारूद तथा हतियार कारखानामा जागिर पाए । जहा जङ्गनरसिंह राणा र भक्तबहादुर बस्नेतले हाउजर गन र सिकस राउजर गन बनाए ।

भक्तबहादुर बस्नेतले हाउजर माउन्टेन गन, ३ पाउण्ड गन तथा अन्य हतियारहरू बनाए । दिपनरसिंह राणाले जापानबाट केही फलफूलको बिरूवा ल्याए । जसमध्य ठूलो कटुस, गोदावरी फूल, जापानी हलुवावेद, तथा नील लहर फूल नेपाल भित्राएका थिए । साथै चन्द्र नहरको डिजाइन पनि उनले नै गरेका थिए । बालनरसिंह रायमाझी बागलुङको तामा खानीको प्रमुख बनाइए, जहाँबाट एक पैसे र पाँच पैसे तामाको सिक्का छापियो । हेमबहादुर बिभिन्न स्थानमा काम गर्दै पछि खानी बिभागको प्रमुख पनि भए । देवनरसिंह बिरामी भएर छिट्टै फर्केका थिए, जसले गर्दा मृत्यु भयो । अन्यको जानकारी प्राप्त छैन, नेपाल फर्केपछि कहा के गरे भन्ने कहि उल्लेख छैन ।यसरी पहिलो जापान पुगेको टोली पछि नेपालीहरू जापान प्रति आकर्षण बढ्दै गयो । आज जापानमा एक लाख भन्दा बढी थाहा भएका र यति नै संख्या लुकेर बसेको अनुमान गरिएको छ ।

साभार :- सुनिल उलक (पोखरा)

ताजा समाचार