कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु

कोलम्बियामा आएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति गरेको छ। ७.४ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १ सय ११ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।

भूकम्पपछि कोलम्बियामा आपत्काल घोषणा गरिएको छ। अधिकारीहरूले भग्नावशेषमा अझै मानिसहरू फसेको हुनसक्ने भन्दै मृतक र घाइतेको संख्या थप बढ्न सक्ने बताएका छन्।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तमा जमिनको सतहबाट करिब १ सय ३ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका शक्तिशाली धक्का पश्चिमी कोलम्बियाको सयौँ किलोमिटर क्षेत्रसम्म महसुस गरिएको थियो।

भूकम्पबाट कफी उत्पादनका लागि प्रसिद्ध पेरेइरा सहर र आसपासका क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। भाले डेल काउका क्षेत्रमा पनि ठूलो क्षति भएको बताइएको छ।

भूकम्पको केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको पेरेइरामा ठूलो क्षति भएको छ। स्थानीय प्रशासनका अनुसार पेरेइरा र आसपासका क्षेत्रमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने ६५ वटा भवन भत्किएका छन्। तीमध्ये १५ वटा भवनमा मानिसहरू फसेको आशंका गरिएको छ। सहरका केही क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ।

पेरेइराभन्दा करिब १ सय ६० किलोमिटर दक्षिणमा रहेको काली सहरमा पनि ठूलो क्षति भएको छ। अधिकारीहरूका अनुसार त्यहाँ ३२ वटा भवन भत्किएका छन्। काली भूकम्पको केन्द्रबिन्दुबाट करिब २०० किलोमिटर टाढा रहेको छ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान जारी छ। सुरक्षाकर्मी र उद्धार टोलीले भत्किएका भवनका भग्नावशेषमा फसेका मानिसहरूको खोजी तथा उद्धार गरिरहेका छन्।

ताजा समाचार