बार्सिलोना । ‘साँच्चै भन्नुपर्दा, म किन आएँ भन्ने पनि अहिले थाहा छैन। अब म फर्किरहेको छु। हिजो दिउँसोदेखि केही खाएको छैन। पैसा ल्याएको थिएँ, तर पनि खान पाइएन।हामीले जे गरिरहेका छौं, त्यो न राम्रो छ, न रमाइलो।’
मोरक्कोको ट्याङ्जियरका एक युवाले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग भनेका यी शब्दहरूले अहिलेको सेउटा संकटको सबैभन्दा ठूलो विडम्बना बयान गर्छन्। केही घण्टाअघि मात्रै युरोप पुग्ने आशामा समुद्रमा हाम फालेर स्पेनको स्वायत्त सहर सेउटा पुगेका हजारौं मानिस अहिले त्यही बाटो हुँदै निराश भएर मोरक्को फर्किरहेका छन्।
बिहीबार बिहानदेखि सुरु भएको यो अभूतपूर्व आप्रवासी लहरमा स्पेनको गृह मन्त्रालयका अनुसार करिब ५० हजार मानिस सेउटा प्रवेश गरेका थिए। तर शुक्रबार साँझसम्म तीमध्ये ४८ हजार ३ सयभन्दा बढी स्वेच्छाले मोरक्को फर्किएको मन्त्रालयले जनाएको छ ।