एजेन्सी
रुस युक्रेन युद्ध अन्त्यको लागि अलास्कामा भएको अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्प र रुसी रास्ट्रपति भ्लादीमिर पुटिनबीचको वार्ता प्रगतिउन्मुख भए पनि ठोस सम्झौताबिना अन्त्य भएको छ ।
ट्रम्प र पुटिन एकै मञ्चमा करिब १० मिनेटसम्म संयुक्त रूपमा उपस्थित भएका थिए । दुवै नेताले व्यक्तिगत वार्तामा प्रगति भएको संकेत गरे पनि वार्ता ठोस सम्झौतामा पुग्न सकेन ।पुटिनले आफू ‘सत्यनिष्ठ भएर’ युद्ध अन्त्य गर्न इच्छुक रहेको भन्दै यसलाई ठूलो ‘त्रासदी’ को रूपमा व्याख्या गरे ।उनले द्वन्द्वका ‘मूल कारण’ हटाउनुपर्ने आवश्यकता औंल्याउँदै युक्रेन र युरोपलाई वार्ता भंग नगर्न चेतावनी दिए । पुटिनका अनुसार, यो भेटवार्ता द्वन्द्व समाधानको सुरुआती बिन्दु मात्र हो ।पुटिनले ट्रम्पसँगको सम्बन्धलाई व्यावसायिक भनेका छन् । २०२० को अमेरिकी निर्वाचनपछि आफू पदमा निरन्तर रहेको भए युद्ध सुरु नै नहुने ट्रम्पको भनाइप्रति सहमति जनाएका छन् ।ट्रम्पले भने अझै पनि केही असहमति कायम रहेको जनाए । केही प्रगति भएको तर अपेक्षित लक्ष्यमा पुग्न नसकेको बताए ।‘सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन’, उनले भने, ‘धेरै बुँदामा सहमति’ भएको तर केही बुँदा बाँकी रहेको उल्लेख गरे । बाँकी रहेको र सहमतिनजिक पुगेका बुँदाबारे खुलासा गरेनन् ।ट्रम्पले चाँडै नै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग टेलिफोन वार्ता गर्ने जानकारी दिएकाछन् । ‘अन्ततः निर्णय गर्ने जिम्मा उनीहरूकै काँधमा छ’, ट्रम्पले भने ।अन्त्यमा ट्रम्पले पुटिनसँग फेरि चाँडै भेट्ने सम्भावना व्यक्त गरे भने पुटिनले ‘अर्को पटक मस्कोमा’ भेटौला भन्दै जवाफ दिए ।दुईजनाबीच करिब साढे २ घण्टा वार्ता भएको थियो । त्यसपछि १० मिनेट एउटै मञ्चमा देखिएका थिए ।